काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सोमबार आयोजना हुने ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई खुलेर समर्थन जनाएका छन्।
शाहले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै र्याली २८ वर्षभन्दा कम उमेरका युवाहरूको स्वस्फूर्त पहल भएकाले यसमा कुनै राजनीतिक दल वा नेताले हस्तक्षेप गर्न नहुने स्पष्ट पारेका छन्।
“भोलिको र्याली स्पष्ट र स्वस्फूर्तरूपमा जेनजीको हो, जसका लागि म पनि अझै बुढो देखिन्छु,” शाहले लेखेका छन्। उनले आफू उमेर हदबन्दीका कारण र्यालीमा उपस्थित हुन नसक्ने भए पनि युवाहरूको सोच र उद्देश्य बुझ्न चाहेको उल्लेख गरेका छन्।
मेयर शाहले युवाहरूमुखी प्रश्न उठाउँदै भने, “तपाईँहरू कस्तो देश देख्न चाहनुहुन्छ?” उनले युवाहरूको आवाजलाई सुनिनुपर्ने आवश्यकता दोहोर्याउँदै कुनै पनि दल, नेता वा कार्यकर्ताले आफ्नो स्वार्थका लागि यसमा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्।
शाहले थपे, “यो र्यालीमा मेरो पूर्ण समर्थन छ, किनकि यो युवाहरूको इच्छाशक्ति र भविष्यप्रतिको दृष्टिकोणलाई अभिव्यक्त गर्ने अवसर हो।”

