जेव्रा क्रसिंगमै बालिकालाई ठक्कर दिएर भाग्यो मन्त्री रामबहादुर मगरको गाडी

ललितपुर । ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार सरकारी गाडीले जेब्राक्रसिङ नजिकै ११ वर्षीया बालिकालाई ठक्कर दिएको र रोक्ने प्रयास नगरी सीधै अघि बढेको भिडियो सार्वजनिक भएको छ।

शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका–२८ हरिसिद्धी माध्यमिक विद्यालय अगाडि मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको गाडीले उषा मगर सुनुवार नामकी बालिकालाई ठक्कर दिएको देखिन्छ। सीसीटीभी फुटेजमा बालिका बाटो काट्न लाग्दा गाडीले ठक्कर दिँदै फालिएको र बालिका सडकमै ढल्दा पनि गाडी रोक्नै नरोकेको स्पष्ट देखिन्छ।

सो क्रममा पछाडिबाट आएको मोटरसाइकलमा सवार महिलाले बालिकालाई सडकबाट उठाएको दृश्यसमेत फुटेजमा कैद भएको छ।

ललितपुर प्रहरीका अनुसार घाइते उषा मगर सुनुवारलाई तत्काल उपचारका लागि बीएन्डबी अस्पताल लगिएको हो। हाल उनको उपचार भइरहेको जनाइएको छ।

घटनापछि प्रहरीले मन्त्री सवार गाडीलाई गोदावरीबाट नियन्त्रणमा लिएको छ। मन्त्री मगर भने एमालेको विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाँदै गरेको अवस्थामा यो दुर्घटना भएको जनाइएको छ।

 

सम्बन्धित समाचार

ताजा न्यूज