काठमाडौँ । दर्ता प्रक्रियामा सहभागी नभएका सामाजिक सञ्जालहरूलाई नेपाल टेलिकमले शुक्रबारदेखि बन्द गरेको छ। सरकारले हालसालै गरेको निर्णय कार्यान्वयन गर्दै टेलिकमले यस्तो कदम चालेको हो।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा चलिरहेका सबै सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरणमा आउन आग्रह गरेको थियो। सो अवधिसम्म पनि दर्ता नभएकाहरूलाई बन्द गर्ने चेतावनी दिइएको थियो।
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार इन्टरनेट सेवा प्रदायकहरूलाई दर्ता नभएका सामाजिक सञ्जाल रोक्न आदेश दिइएको थियो। त्यसको पालना गर्दै नेपाल टेलिकमले सूचना जारी गरी सेवा बन्द भएको जनाएको छ। यसअघि एनसेलले पनि यस्तै सूचना सार्वजनिक गरिसकेको थियो।
यो निर्णयसँगै फेसबुक, ह्वाट्सएप, इन्टाग्रामलगायत नेपालमा सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल अब निष्क्रिय हुने भएका छन्।


