काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएकोमा खतिवडाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
समितिको सभापतिमा अन्य कुनै उम्मेदवारी नपरेपछि खतिवडा सर्वसम्मत भएका हुन् । आधिकारिक घोषणा भने शुक्रबार साँझ ५:१५ बजे बस्ने समिति बैठकमार्फत गरिनेछ ।
खतिवडा यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रहेका थिए । तर सङ्घीय निजामती सेवा विधेयक, २०८० मा रहेको ‘कुलिङ अफ पिरियड’ प्रावधानमा विवाद उत्पन्न भएपछि विशेष समितिले नैतिक जिम्मेवारी लिने निष्कर्ष निकाल्दा उनले साउन २८ गते राजीनामा दिएका थिए ।
राजीनामा दिएको एक महिनाभित्रै खतिवडा पुनः अर्को समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघि सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएपछि पद रिक्त बनेको थियो । त्यसपछि संघीय संसद् सचिवालयले नयाँ सभापति चयनका लागि कार्यतालिका सार्वजनिक गरेको थियो ।

