काठमाडौँ । भाषा आयोगले सवारी साधनमा प्रयोग हुने सबै प्रकारका नम्बर प्लेट तथा अन्य सूचना देवनागरी लिपिमा अनिवार्य रूपमा लेख्नुपर्ने भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
आयोगले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा अङ्ग्रेजी भाषा र रोमन लिपिको प्रयोग बढ्दै गएको गम्भीर चासो व्यक्त गर्दै, नेपालको संविधानको धारा ७ को उपधारा १ अनुसार देवनागरी लिपिमा लेखिएको नेपाली भाषा सरकारी कामकाजको भाषा हुने स्पष्ट व्यवस्था भएको स्मरण गराएको छ।
विज्ञप्तिमा सर्वोच्च अदालतको २०७९ असार ७ गतेको फैसलालाई समेत उद्धृत गर्दै आयोगले देवनागरी लिपिमा मात्र विद्युतिय संकेत र नम्बर प्लेट लेखिनुपर्ने निर्णय कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गरेको छ। आयोगले संविधानको धारा ७ को उपधारा ३ बमोजिम नेपाल सरकारको सिफारिसमा निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्थाको पुनः स्मरण गराउँदै, देवनागरी लिपिको प्रयोगलाई तत्काल प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको हो।
भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले हस्ताक्षर गरेको विज्ञप्तिमा सबै तहका सरकारी निकायलाई संविधानअनुसारको दायित्व निर्वाह गर्दै देवनागरी लिपिमा सवारी साधनका नम्बर प्लेट र अन्य विद्युतिय संकेत राख्न आग्रह गरिएको छ।


