काठमाडौं । सत्ता र शक्तिको आडमा न्याय प्रणालीको दोहोरो चरित्र फेरि एकपटक उजागर भएको छ । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पटक–पटक उजुरी दिएर न्याय मागिरहेकी एक पीडित महिला उल्टै पटक–पटक पक्राउ परी ५० दिन हिरासतमा बस्न बाध्य भइन्, तर महर भने उजुरी दर्ता भएलगत्तै तीन घण्टामै हाजिरी जमानीमा रिहा भए ।
पीडित महिलाले महर र उनकी पत्नी सनुजा श्रेष्ठसहित आफन्तहरूले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको भन्दै जाहेरी दिएकी थिइन् । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि महर आफैँ साइबर ब्युरोमा उपस्थित भए पनि सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि म्याद थप नगरी तत्काल हाजिरी जमानीमा रिहा गरिदियो ।
महर दम्पती दिउँसो ब्युरोमा हाजिर हुन आएका थिए । उनको बयानपछि सरकारी वकिल कार्यालय लगिएको थियो । सरकारी वकिल कार्यालयको निर्देशनपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको थियो ।
तर पीडित महिला भने यसलाई सत्ता र शक्तिको खुला दुरुपयोगको रूपमा लिन्छिन् ।‘पटक–पटक चरित्रहत्या भएपछि म जाहेरी लिएर साइबर ब्युरो पुगेँ, तर प्रहरीले उजुरी दर्ता नै गरेन,’ पीडित महिलाले गुनासो गर्दै भनिन्, ‘अन्त्यमा हुलाकमार्फत पठाएपछि मात्र जाहेरी दर्ता भयो । अदालतको आदेशपछि केही आशा पलाएको थियो, तर तीन घण्टामै हाजिरी जमानीमा छाडिएको घटनाले फेरि पीडित हुनुको पीडा थपिएको छ ।’
पीडित महिलाले महरविरुद्ध यसअघि बलात्कारको उजुरी पनि दिएकी थिइन् । उनका अनुसार २ जेठ ०८० मा अनामनगरस्थित कार्यालयमा बोलाएर महरले जबर्जस्ती गरेका थिए । उजुरी दिने तयारी थाहा पाएपछि धम्की र मानसिक यातनासँगै उनका प्रमाणसमेत नष्ट गरिएको उनको आरोप छ । अनेक प्रयासपछि २५ वैशाख ०८१ मा जाहेरी दर्ता भए पनि प्रहरीले अनुसन्धान अगाडि बढाएन । उच्च अदालत पाटनले ९ माघ ०८१ मा अनुसन्धान गर्न आदेश दिए पनि सरकारी वकिल कार्यालयले ३१ वैशाखमा उजुरी तामेलीमा राखिदियो ।
‘म ऐन महरबाट बलात्कृत भएँ । मानसिक टर्चर खेपेँ । धम्की सहेँ । अदालतले अनुसन्धान गर्न आदेश दियो तर त्यो आदेश पनि कार्यान्वयन भएन,’ पीडित महिलाले आक्रोश पोखिन् ।
महर र उनकी श्रीमतीको उजुरीमा भने पीडित महिलालाई पटक–पटक पक्राउ गरी ५० दिनसम्म हिरासतमा राखियो । महर दम्पती र उनका सहयोगीहरूले महिला विरुद्ध पाँच वटा उजुरी दर्ता गराएका थिए, जसमध्ये तीन साइबर अपराध र एक आपराधिक लाभसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा राखिएको थियो ।
‘महर दम्पतीले मविरुद्ध तीनवटा जाहेरी दर्ता गरेर नपुगेर सहयोगीको नाममा थप दुई जाहेरी दर्ता गराएका छन् । ५० दिन मलाई हिरासतमा राखियो । ममाथि मुद्दामाथि मुद्दा थोपारियो, जबकि पीडित म हुँ,’ पीडित महिलाले भनिन् ।
यस घटनाले देशको न्याय प्रणालीमा शक्तिशाली र सामान्य नागरिकबीचको गहिरो असमानता देखाएको छ। बलात्कार जस्तो गम्भीर अपराधमा समेत अनुसन्धान नगर्ने, अदालतको आदेश कार्यान्वयन नगर्ने र उल्टै पीडितलाई हिरासतमा थुन्ने प्रवृत्तिले सत्ता र शक्तिका व्यक्तिहरूको पहुँचमा मात्रै न्याय सीमित रहेको पुष्टि गरेको छ ।
नेता महरले फेसबुक लाईभबाट आफ्नो चरित्र हत्या गर्ने किसिमले अफवाह फैलाइएको भन्दै यो प्रकरणमा प्रष्टिकरण दिएका छन् । म एउटा राजनीतिक सामाजिक न्यायमा सक्रिय व्यक्ति हो । म राजनीतिक व्यक्ति हुँदा न्याय नपाउने हुन्छ भन्दै महरले प्रश्न गरेका छन् ।

