पक्राउ परे लगत्तै हाजिरी जमानीमा रिहा भए एमाले नेता महर

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गालीगलौज गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा रिहा भएका छन्। बुधवार पक्राउ परेका उनको बयान बुधवारै सकियो। अनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई बुधवारै हाजिर जमानीमा छोड्न निर्णय गर्यो।

साइबर ब्युरोका अनुसार विद्युतीय अपराधसम्बन्धी उजुरीको आधारमा जिल्ला अदालत काठमाडौंले भदौ ९ गते पक्राउ पुर्जी जारी गरेपछि महरलाई पक्राउ गरिएको थियो। बुधबार स्वेच्छिक रूपमा ब्युरोमा उपस्थित भएका महरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धान सकिएपछि अदालतको आदेशअनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो।

बझाङ स्थायी बासिन्दा महर एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष हुन्। उनी २०७८ मंसिरमा पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका थिए। तर, यौन विचलनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको थियो। पछि सचिवालय बैठकको निर्णयअनुसार उनी पुनः सक्रिय भूमिकामा फर्किएका थिए।

गत प्रतिनिधिसभा चुनावमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए। यसअघि पनि एक महिलाले महरविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन्, तर उक्त मुद्दा पछि प्रक्रियागत रूपमा अघि बढेन।

सम्बन्धित समाचार

ताजा न्यूज