संघीय संसद्को विधायन समितिको बैठक बस्दै ‘राष्ट्रिय विज्ञान प्रयोगशाला विधेयक’ माथि छलफल हुने

काठमाडौँ । संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११:३० बजे बस्ने भएको छ। बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी दफावार छलफल हुने कार्यसूची तय गरिएको छ।

सो विधेयक २०८१ पुस २३ गते राष्ट्रिय सभामा दर्ता गरिएको थियो। प्रारम्भिक छलफल २०८१ फागुन ४ गते सम्पन्न भएपछि विधेयकलाई विस्तृत अध्ययन र दफावार छलफलका लागि समितिमा पठाइएको हो।

विधेयकले देशमा वैज्ञानिक अनुसन्धान र प्रमाणिक परीक्षणका लागि राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना गर्ने आधार तयार पार्ने प्रस्ताव राखेको छ। यसमार्फत जैविक वा निर्जीव वस्तु, प्रमाण, लिखत, भौतिक तथा विद्युतीय सामग्रीहरूलाई वैज्ञानिक विधि र पद्धतिबाट परीक्षण र प्रमाण संकलन गर्न सकिने व्यवस्था हुनेछ।

प्रस्तावित विधेयकमा प्रयोगशालाको संरचना, अधिकार र सञ्चालन, सञ्चालक समितिको गठन, कार्यकारी निर्देशक र कर्मचारी व्यवस्थापन, परीक्षणका मापदण्ड, कोष, लेखा र लेखापरीक्षण लगायतका प्रावधानहरू समावेश गरिएका छन्।

समितिमा आजको छलफलपछि विधेयकलाई आवश्यक संशोधन र सुझावसहित अगाडि बढाइने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज