रवि लामिछानेलाई नख्खु कारागारमा सारियो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागार स्थानान्तरण गरिएको छ। शनिबार अपराह्न साढे ४ बजे बुद्ध एयरको नियमित उडानमार्फत उनलाई काठमाडौं ल्याइएको हो।

लामिछानेलाई रुपन्देही कारागारबाट कडा सुरक्षाबीच भैरहवास्थित गौतमबुद्ध विमानस्थल पुर्‍याइएको थियो। त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनलाई नख्खु कारागार लगिएको हो।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारको ब्लक नम्बर ४ मा पुर्पक्षका लागि थुनामा रहेका थिए। कारागार स्थानान्तरणको माग गर्दै उनले जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए। अदालतले जेठ १६ गते स्थानान्तरणका लागि अनुमति दिएको थियो।

करिब ४० दिनपछि कारागार व्यवस्थापन विभागले शुक्रबार निर्णय गर्दै शनिबारदेखि उनलाई नख्खु कारागारमा सारिएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज