काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद ग्रहण गरेको एक सातापछि प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन्।
मंगलबार बसेको प्रदेशसभा बैठकमा बानियाँको पक्षमा ६३ मत खसेको छ भने विपक्षमा २२ मत परेको छ। बैठकमा कुल ९२ जना प्रदेशसभा सदस्य उपस्थित थिए।
संविधानको धारा १६८(४) र प्रदेशसभा नियमावली, २०७४ को नियम १४३(१) अनुसार भएको मतदानमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले दुवैले आफ्ना सांसदलाई ह्वीप जारी गरी बानियाँको पक्षमा मतदान गर्न निर्देशन दिएका थिए।
२० साउनमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री नियुक्त भएका बानियाँ, आफ्नै दलका नेता बहादुर सिंह लामामाथि दर्ता भएको अविश्वास प्रस्ताव पारित भएपछि पदमा पुगेका हुन्।