रवि लामिछानेलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश जारी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेश जारी भएको छ। जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश दिएको हो।

लामिछानेमाथि बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा मुद्दा चलिरहेको छ। उनी गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थुनामा छन्। लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताहरूको बचत फिर्ता गर्ने दायित्व आफूले लिन चाहेको बताएका थिए। साथै, आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै साउन १९ गते जिल्ला अदालतमा निवेदन दिएका थिए।

उनको निवेदन सुनुवाइका लागि जिल्ला अदालतका १० नम्बर न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा परेको थियो। उक्त निवेदनसँगै लामिछानेले आफ्नो ठगी रकमको बिगोबापत बैंकमा जम्मा गरिएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको जमानत पनि प्रस्तुत गरेका थिए।

यसअघि, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो भने सर्वोच्च अदालतले पनि उक्त आदेशलाई सदर गरिसकेको छ।

यस परिस्थितिमा जिल्ला अदालतले पनि थुनामा राख्ने आदेश जारी गरेपछि रवि लामिछाने कारागारमै रहने निश्चित भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज