कैलाली कारागारमा झडपपछि ५ सदस्यीय छानविन समिति गठन, फेरिए जेलर फेरिए

काठमाडौं । कैलाली कारागारमा झडपपछि ५ सदस्यीय छानविन समितिले १० दिनको कार्यादेश पाएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित छानबिन समितिले कारागारमा भएको झडप र त्यसको कारण र कारागार प्रशासनबाट भएका कमजोरीसहितको विषयमा प्रतिवेदन तयार पर्ने भएको छ ।

उक्त समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश पाएसँगै समितिले काम गर्न थालिसकेको छ ।

त्यसैको पहिलो काम स्वरुप कैलाली कारागारका जेलर फेरिएका छन् । जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको हो । भुसाल दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

शुक्रबार राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो । सो झडपको क्रममा ४७ जना घाइते भएका थिए ।

शनिबार दिउँसो पनि कारागाराको अवस्था असामान्य बनेको थियो । कारागारभित्र रहेका कैदीहरूले केहीबेर कारागार नै नियन्त्रणमा लिएका थिए भने अवस्था सामान्य बनाउन प्रहरीले हम्मे हम्मे भएको थियो ।

झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने अरु घाइतेहरु उपचाररत छन्। एक जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज