काठमाडौं । नेपालका उच्च अदालतमा कार्यरत महिला न्यायाधीशको संख्या पहिलो पटक २५ पुगेको छ। न्याय परिषदले बिहीबार ३ जना नयाँ महिला न्यायाधीश सिफारिस गरेसँगै यो संख्या २५ पुगेको हो । योसँगै महिला न्यायाधीशको संख्या अहिलेसम्मकै सबैभन्दा बढि पुगेको हो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषदको बैठकले मकवानपुर जिल्ला अदालतकी अवनी मैनाली, कानून व्यवसायी शर्मिला थापा र हाल श्रम अदालत सदस्य निशा बानियाँलाई उच्च अदालतमा पदोन्नति गर्ने निर्णय गरेको हो। मैनाली र थापा पाटन उच्च अदालत अन्तर्गतका इजलासमा तथा बानियाँ बुटवल इजलासमा रहनेछन्।
यो नयाँ सिफारिससँगै उच्च अदालतका १३३ मध्ये २५ जना महिला न्यायाधीश भएका छन्। यसअघि यो संख्या २२ मात्र थियो।
महिला न्यायाधीशको बढ्दो उपस्थिति न्यायिक नेतृत्वमा महिलाको सम्भावना पनि बढाउँदै छ। सर्वोच्च अदालतमा हाल सपनाप्रधान मल्ल, शारंगा सुवेदी र शान्तिसिंह थापा ३ जना महिला न्यायाधीश कार्यरत छन् । बरियताक्रम नमिचिएमा मल्ल आगामी प्रधानन्यायाधीश बन्नेछिन्, जसले नेपालमा महिला प्रधानन्यायाधीशको सम्भावना पुनः देखाएको छ ।
तर, जिल्ला अदालतमा महिला न्यायाधीशको उपस्थिति अझै न्यून छ । २८१ मध्ये २४ मात्र महिला छन्।
न्यायिक क्षेत्रमा महिलाको बढ्दो सहभागिता नेपालको कानून र न्याय प्रवाहमा समावेशिता र सन्तुलनको संकेत मानिएको छ। तर, विशेषज्ञहरूले यसलाई ‘शुरुआत मात्र’ भन्दै महिलाको नेतृत्व भूमिकामा अझ सशक्त पहुँच सुनिश्चित गर्न आवश्यक सुधारका लागि दबाब बढाइरहेका छन्।
- समाचारमा प्रयोग गरिएको कार्टुन एआई प्रयोग गरि तयार गरिएको हो । हाम्रो एआई नीति यहाँबाट हेर्नुहोस् । – सम्पादक