काठमाडौँ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि विभेद गरिएको भन्ने समाचारप्रति रुपन्देही कारागार प्रशासनले स्पष्टोक्ति दिएको छ । प्रशासनले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै लामिछानेलाई अन्य सामान्य कैदीले पाउने सबै सेवा–सुविधा समान रूपमा उपलब्ध गराइँदै आएको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरी उहाँलाई पनि यस कार्यालयले सुविधा उपलब्ध गराउँदै आएको छ ।’ प्रशासनका अनुसार लामिछानेले चाहेमा बाहिरबाट भेट्न आउने व्यक्तिसँग भेटघाट गर्न र सञ्चार सुविधा उपयोग गर्न समेत सहज वातावरण मिलाइएको छ ।