मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा

हेटौंडा । बागमती प्रदेशमा राजनीतिक समीकरण फेरिने सङ्केत देखिंदै गर्दा मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिएका छन्। लामाले २०८१ साउन ९ गते सत्ता सम्हालेका थिए र करिब एक वर्ष नौ दिनपछि पदबाट अलगिएका हुन्।

नेपाली कांग्रेसका नेता लामा तामाङ समुदायबाट प्रदेश प्रमुख बनेका पहिलो व्यक्ति हुन्। उनले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा पद त्यागेको जानकारी दिएका छन्।

हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सुशासन हलमा साँझ आयोजित पत्रकार सम्मेलनमा लामाले आफ्नो एकवर्षे कार्यकालको प्रगतिबारे जानकारी दिएका थिए। उनले आफूले ईमानदारीपूर्वक शासन सञ्चालन गरेको दाबी गर्दै दलभित्रकै षड्यन्त्रका कारण पदबाट अलगिनुपरेको बताए।

“म भाग्ने होइन, लड्ने मान्छे हुँ,” मुख्यमन्त्री लामाले भने, “तर दलभित्रको प्रपञ्च र सत्ता चलाउने अस्वस्थ अभ्यासका कारण मलाई राजीनामा दिनु पर्‍यो।” उनले यो घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि नै खतरा उत्पन्न गराएको आरोपसमेत लगाए।

लामाको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको चर्चा चुलिएको छ। राजनीतिक वृत्तमा अब नेकपा (माओवादी केन्द्र) नेतृत्वको सम्भावित गठबन्धन सरकारबारे अड्कल काटिन थालेको छ।

 

सम्बन्धित समाचार

ताजा न्यूज