काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेमाथि लागेको बौद्धिक चोरीको आरोप अब केवल व्यक्तिगत विवादमा मात्रै सीमित रहेन, यो विषय बौद्धिक सम्पत्तिको कानुनी र नैतिक परिभाषाको सार्वजनिक परीक्षणको रूपमा समेत अघि बढेको छ। घिमिरेले आफ्नो बचाउमा सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राखेपछि यो विषय न्यायिक वृत्तमा फेरि चर्चामा आएको छ । उनले उक्त पोस्टमा पावर प्वाइन्ट बौद्धिक सम्पत्तिमा पर्दैन भन्दै दाबी गरेका छन् ।
पूर्व अध्यक्ष घिमिरेले आफ्नो बचाउमा भनेका छन् कि प्रस्तुति भन्नाले ‘टिपोट’ बुझिन्छ र त्यसले सर्जकत्वको दाबी खारेज गर्छ। फेसबुकमा उनले लेखेका छन्, विभिन्न स्रोत र सामग्रीहरू जम्मा गरेर तयार गरिएको विषय टिपोट हो। तर यही धारणा अहिले कानूनी तथा शैक्षिक क्षेत्रका विज्ञहरूमाझ विवादास्पद बनिरहेको छ।
घिमिरेले आफ्नो फेसबुक स्ट्याटसमार्फत स्वीकार गरेका छन् कि उनले २०८२ सालको श्रावण १४ गते कर्णाली प्रदेशको सुर्खेतमा नेपाल बार काउन्सिल अन्तर्गत लयर्स एकेडेमीद्वारा आयोजित फौजदारी कानूनसम्बन्धी आधारभूत तालिममा सहजकर्ता/प्रस्तुतिकर्ताको भूमिका निर्वाह गर्दै पावर प्वाइन्ट प्रस्तुति प्रयोग गरेका थिए।
उनको भनाइमा, पावर प्वाइन्ट भनेको डिजिटल बुँदा टिपोट मात्र हो, जुन विभिन्न स्रोतबाट सामग्री सङ्कलन गरी तयार गरिन्छ। यस्तो सामाग्री तालिममा प्रस्तुत भएपछि सार्वजनिक प्लेटफर्ममा छाडिन्छ र अन्य प्रस्तोताले स्रोत सामग्रीका रूपमा प्रयोग गर्न सक्छन्।
उनले अगाडी लेखेका छन्, जब प्रस्तोताले यस्को प्रस्तुतीकरण गर्छ आफू उक्त संस्थाबाट remuneration लिएर उक्त सामाग्री सर्बजनिक प्लेटफर्म (Bar Council) मा छोडछ त्यसपछि उक्त सामाग्री अन्य प्रस्तोताको लागी श्रोत सामाग्री बन्न पुग्छ । यदि उक्त सामग्री अन्यले प्रयोग नगरोस् भन्ने हो भने प्रस्तुति पछि उक्त सामग्री आफूसँगै लिएर जानु पर्छ। यस विधामा प्रस्तुतीकरण fundamental विषय हो । प्रस्तोताले उक्त प्रस्तुति कुन श्रोतबाट collection गर्यो भन्ने कुराले धेरै महत्त्व राख्दैन ।बौद्धिक सामग्री को चोरी भनेको कसैले अर्को व्यक्ति द्वारा लिखित पुस्तक वा लेख लाई आफ्नो नाममा छपाउँछ भने त्यसमा लानुहुने कुरा हो । मैले आजसम्म गरेका सबै presentation सर्बजनिक छन् ।उक्त सामाग्रीहरू भावी प्रस्तोता हरूको लागि श्रोत सामाग्रीको रूपमा रहनेछन् ।
नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ र अन्तर्राष्ट्रिय अभ्यास अनुसार, कुनै पनि मौलिक लेखन, दृश्य सामग्री, तालिम नोट्स वा पावर प्वाइन्ट प्रस्तुति स्वतः बौद्धिक सम्पत्तिको दायरामा पर्छन्। यो विवाद सार्वजनिक भएपछि त्रिभुवन विश्वविद्यालयका पूर्व उप प्राध्यापक तथा अधिवक्ता अमृत खरेलले फेसबुकमा स्ट्याटस राख्दै लेखेका छन्, पावर प्वाइन्ट वा लेक्चर नोटहरू स्वतः बौद्धिक सम्पत्तिको दायरामा पर्छन्। कुनै सर्जकको अनुमति वा स्रोत उल्लेखबिना प्रयोग गर्नु कपि राइट उल्लङ्घन हो।
त्यसै गरी अर्का अधिवक्ता भरत प्रसाद खरेलले सर्जकको नाम हटाएर प्रयोग गर्नु सिधा बौद्धिक चोरीमा पर्ने बताउँछन् । त्यो पेसागत नैतिकताको गम्भीर उल्लङ्घन हो उनी भन्छन् ।
डा. कुन्साङ लामा योन्जनले घोराही, दाङमा भएको तालिममा घिमिरेले प्रयोग गरेको पावर प्वाइन्ट आफ्नै स्लाइड भएको दाबी गर्दै सार्वजनिक रूपमा गुनासो गरे पछि सार्वजनिक भएको यो विषय घिमिरेको स्ट्याटसले पछि फेरि विवादास्पद बनेको छ । ती स्लाइडहरूमा डा. योन्जनले पहिल्यै प्रयोग गरेका डिजाइन, रचना, र सामग्रीहरू जस्ताको तस्तै देखिएको छ। कानून खबरसँग कुरा गर्दै पूर्व अध्यक्ष घिमिरेले आफूले डा. योञ्जनको पावर प्वाइन्ट रिफरेन्सको रूपमा प्रयोग गरेको दाबी गरेका थिए । बार काउन्सिलका कर्मचारी विदुर सापकोटाले फेसबुकमा घिमिरेले यो विषयमा कोही कसैले पढाएको भए सन्दर्भ सामग्रि पठाइदिनु भनेर परिषद्को सचिवलाई भनेकोमा सचिवले डा. कुन्साङको पावर प्वाइन्ट पठाइएकोमा त्यसलाई बेस मानेर क्लास लिएको भनेर लेखेका छन् । उनले यहाँ घिमिरलाई सन्दर्भ सामग्रिका रुपमा पठाइएको स्पष्ट उल्लेख गरेका छन । पूर्व अध्यक्ष घिमिरेले पनि रिफरेन्सका रूपमा उक्त पावर प्वाइन्ट प्रयोग गरेको दावी गरे । तर पूर्व अध्यक्ष घिमिरेले पावर प्वाइन्टबाट डा. योञ्जनको नाम हटाएर आफ्नो नाम राखेका छन् । ६६ पृष्ठ लामो उक्त पावर प्वाइन्टको स्लाइड नं ३३ मा भने डा. योञ्जनको भूलबस हटाउन छुटेको देखिन्छ । घिमिरेले रिफरेन्सका रुपमा पावर प्वाइन्ट प्रयोग गरेको दावी गरेपनि यसका सर्जकको नाम किन हटाए र अझ उनको नाम हटाएर आफनो नाम किन राखे ? यो प्रश्न कानून खबरले पूर्व अध्यक्ष घिमिरेसँग राखेको थियो । घिमिरेले बार काउन्सिलले आफूले सन्दर्भ सामग्रि माग्दा नाम परिर्वतन गरेर दिएको होला भन्ने जवाफ दिएका थिए ।
नेपाल बार एसोसिएसनको अध्यक्ष भएको समयमा बार अध्यक्षको हैसियतले नेपाल बार काउन्सिलको पदेन उपाध्यक्ष समेत रहिसकेका घिमिरेले कानून खबरसँग पावर प्वाइन्टमा बार काउन्सिलले नै नाम परिवर्तन गरेर दिएको होला भन्न समेत भ्याए । बार काउन्सिलका कर्मचारी विदुर सापकोटाले कानून खबरमा यससम्बन्धि समाचार प्रकाशन भएपछि त्यस लगत्तै फेसबुकमा एउटा पोष्ट राख्दै सचिवले पावर प्वाइन्ट पठाइदिएको भनेपछि कानून खबरले काउन्सिलका सचिव श्रीराम खनालसँग सम्पर्क गरेको थियो । सचिव खनालले काउन्सिलमा आउने पावर प्वाइन्टहरु आफूहरुले उपलब्ध गराउने गरेको बताए । उनले भने घिमिरे सरलाई पनि हामीले पावर प्वाइन्ट पठाइदिएका हौं । तर नाम परिर्वतन बारे आफूलाई थाहा नभएको बताए । उनले भने हामीले त उहाँले सन्दर्भ सामग्रिका लागि मागेपछि डा. योञ्जनको पावर प्वाइन्ट जस्तो छ त्यस्तै पठाइदिएको हो । नाम परिर्वतन किन गर्नु ? यसबारे मलाई थाहा भएन ।
यस विषयमा डा. योञ्जनले कानून खबरसँग भने, उहाँ जत्तिको मान्छेले मेरो पावर प्वाइन्ट रिफरेन्सका रूपमा प्रयोग गर्दा मलाई आपत्ति छैन । तर सबै पेजमा राखेको मेरो नाम हटाएर आफ्नो नाम राखेर आफ्नै सिर्जना जसरी प्रस्तुत गर्नु भयो । अझ यो कुरा मैले थाहा पाएपछि उहाँको साथी सर्कलमा पनि जानकारी गराएको हुँ । उहाँले त माफी माग्नु पर्नेमा उल्टै मेरो कमजोरी पो देखाउन थाल्नु भयो ।
यसै विषयमा सामाजिक सञ्जालमा भएका आलोचनाप्रति प्रतिक्रिया दिँदै घिमिरेले कटाक्षपूर्ण शैली अपनाएका छन्। उनले लेखेका छन्, २४ सै घण्टा फेसबुकमा लेखेर अर्काको चियोचर्चो गरेर खाना पचाउने टिप्पणीकारहरूले यदि सक्नुहुन्छ भने रिसर्च आर्टिकल नै लेख्नुहोस् हामी सबै लाभान्वित हुनेछौँ।
तर कानूनी तथा शैक्षिक वृत्तमा यो बयानलाई आत्मालोचनाभन्दा बढी जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको डिफेन्सिभ डेरोगेटरी प्रतिक्रिया मानिएको छ। वरिष्ठ पेसाकर्मीबाट यस किसिमको भाषिक व्यवहार र बौद्धिक चोरीलाई सामान्यीकरण गर्ने प्रवृत्तिले संस्थागत शुद्धता र शैक्षिक श्रमको मूल्यमा आघात पुर्याउने चिन्ता पनि बढेको छ।
घिमिरेले उठाएको ‘टिपोट’ र ‘साझा स्रोत’ को तर्क कानूनी रूपमा दुर्बल र नैतिक रूपमा गैर जिम्मेवार देखिएको छ। पावर प्वाइन्ट मात्र प्रस्तुति नभएर सिर्जनात्मक श्रमको अभिव्यक्ति हो। त्यसलाई अनुमति वा सन्दर्भ उल्लेखबिना जस्ताको तस्तै पुनः प्रयोग गर्नु कपि राइट उल्लङ्घन मात्र होइन, पेसागत निष्ठाको अपमान हो।
सम्बन्धित समाचार:
नेपाल बारका पूर्व अध्यक्षमाथि ‘बौद्धिक चोरी’को गम्भीर आरोप (दुवै स्लाइड सहित)