काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा नेतृत्व परिवर्तन भएको छ। पार्टीको राष्ट्रिय भेलाबाट लालवीर चौधरी नयाँ अध्यक्षको रूपमा चयन भएका छन्। रेशम चौधरीका पिता लालवीरले अब पार्टीको बागडोर सम्हाल्ने भएका छन्।
पार्टीभित्रको विवादले चुलिएको अवस्था समाधान गर्न बोलाइएको राष्ट्रिय भेलाले यसअघि अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गर्दै नेतृत्व परिवर्तनको बाटो खोलेको थियो। यही निर्णयको निरन्तरतास्वरूप बिहीबार नयाँ अध्यक्षको रूपमा लालवीर चौधरीको नाम सार्वजनिक गरिएको हो।
नयाँ अध्यक्षको जिम्मेवारी सम्हालेपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै चौधरीले पार्टीको आन्तरिक समस्याको समाधान विधि र प्रणालीअनुसार खोज्ने बताए। “लगातार आठ दिनको मन्थनपछि हामी सकारात्मक निष्कर्षमा पुग्न सफल भयौं,” उनले भने।
चौधरीले यो निर्णय व्यक्तिगत विपक्षिता नभई संस्थागत समाधानतर्फको कदम भएको प्रस्ट्याए। “रञ्जिता श्रेष्ठलाई हटाइएको होइन, दण्डित गरिएको होइन,” उनले भने, “पार्टीलाई संकटबाट निकाल्न आवश्यक उपाय स्वरूप नेतृत्वको जिम्मेवारीमा परिवर्तन गरिएको मात्र हो। उहाँलाई अझै पनि सम्मानका साथ पार्टीमा फर्कन आग्रह गरेका छौं।”
पार्टीका संस्थापक सदस्य, संघ–प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधिहरूको सहयोगबिना यो सम्भव नहुने उल्लेख गर्दै उनले सबैलाई धन्यवाद दिएका छन्।