नेपालगञ्ज । बाँकेको कर्णाली विकास बैंकको बहुचर्चित वित्तीय अनियमितता प्रकरणमा १०९ जनालाई प्रतिवादी बनाएर बैंकिङ कसुर मुद्दा दायर गरिएको छ। सरकारी वकिलको कार्यालय, बाँकेले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गर्दै ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपैयाँ बराबरको बिगो माग गरेको हो।
मुद्दामा समावेश १०९ जनामध्ये संस्थापक अध्यक्ष, बैंकका उच्च पदस्थ अधिकारीदेखि नेपाल राष्ट्र बैंकका अनुगमन अधिकृतसम्म छन्। चार जना पक्राउ परिसकेका छन् भने दुई जना मृतक र बाँकी फरार रहेका छन्।
पक्राउ पर्नेमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरी, सञ्चालक समिति अध्यक्ष पशुपति दयाल मिश्र र राष्ट्र बैंकका अनुगमन अधिकृत भुवन बस्नेत छन्। मृतकको सूचीमा राप्ती पोलिमर्सका संचालक महेशजंग थापा र बैंकका पूर्वकर्मचारी धनन्जय कश्यप परेका छन्।
यो प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले नेपालगञ्जमै खटिएर सम्पन्न गरेको हो। ब्युरोको रिपोर्ट अनुसार कर्णाली विकास बैंकबाट ३ अर्ब २० करोडभन्दा बढी रकम अपचलन गरिएको ठहर गरिएको छ।
अनुसन्धान प्रतिवेदन अनुसार एक अर्ब ११ करोड ९१ लाख रुपैयाँ अन्य बैंकबाट ल्याइएको नगद बैंकमा दाखिला नगरी गायब पारिएको छ। त्यस्तै, अन्य बैंक खातामा जम्मा गर्न पठाइएको १५ करोड ३० लाख रुपैयाँ पनि खातामा नगनाई अपचलन गरिएको पाइएको छ।
विभिन्न शीर्षकमा ठूलो रकम अनियमित तरिकाले प्रयोग गरिएको प्रमाणित भएपछि बैंकिङ कसुर ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
प्रकरणले झन् गम्भीर मोड लिएको बेला नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई ‘समस्या ग्रस्त संस्था’ घोषणा गर्दै प्रत्यक्ष व्यवस्थापनमा लिएको थियो। हाल बैंक राष्ट्र बैंककै व्यवस्थापनमा सञ्चालन भइरहेको छ।
बैंकमा झन्डै एक लाख निक्षेपकर्ता रहेका छन्। यति ठूलो संख्यामा सर्वसाधारणको पैसा जोखिममा परेपछि पीडितहरूले प्रभावकारी छानबिन र कडा कारबाहीको माग गर्दै आएका छन्।