काठमाडौं । लामो समयदेखि विवाद र असहमतिको घेरामा रहेकी नागरिक उन्मुक्ति पार्टी (नाउपा) की संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ अन्ततः पार्टीको कार्यकारी नेतृत्वबाट हटाइएकी छन्। श्रीमान तथा पार्टी संरक्षक रेशम चौधरीको पक्षधर बहुमत केन्द्रीय सदस्यहरूको निर्णयपछि श्रेष्ठ पदमुक्त भएकी हुन्।
पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले केही समय अघि सर्वोच्च अदालतमा पार्टी संरक्षक रेशम चौधरीको सदस्यता वैध नभएको दाबी गर्दै बयान दिएको विषयले दलभित्रको विभाजनलाई झनै चर्काएको थियो। उनले अदालतमा भनेकी थिइन्, “जन्मकैदको सजाय भोगी रहेका व्यक्तिले दलको सदस्यता लिन सक्दैनन्, अध्यक्ष त परै जाओस्।”
यसै पृष्ठभूमिमा चौधरी समूहले १४ साउनमा राष्ट्रिय भेला बोलाएर श्रेष्ठलाई अध्यक्ष पदबाट औपचारिक रूपमा हटाएको घोषणा गरेको हो। भेलामा केन्द्र, प्रदेश र संघका जनप्रतिनिधिहरू तथा केन्द्रीय सदस्यहरूको सहभागी रहेका थिए। भेलामा अध्यक्ष हटाउने प्रस्तावमा कुनै असहमति नरहेको नेताहरूको दाबी छ।
पार्टी महासचिव ठाकुरसिंह थारुका अनुसार रञ्जिताले विधानविपरीत पोखराका शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि स्थिति विस्फोटको स्थितिमा पुगेको हो। “हाम्रो विधानअनुसार कार्यवाहक अध्यक्ष वरिष्ठ नेताबाट तोक्नुपर्छ, उनी भने स्वेच्छाले आफ्ना मान्छेलाई अघि सार्न थालिन्,” थारुको भनाइ छ।
श्रेष्ठलाई पदमुक्त गर्नुअघि पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो। तर, उनले २४ घण्टाको समयसीमा बितिसक्दा पनि लिखित जवाफ नदिएको कारण पदच्युत गर्ने निर्णयलाई थप आधार मिलेको हो।
भ्रष्टाचार आरोपसँग जोडिएर पनि श्रेष्ठ विवादमा तानिएकी छन्। भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवाका विषयमा पैसा लिएर सेटिङ गर्ने प्रयत्नमा संलग्न भएको भन्दै अख्तियारले उनलाई बयानका लागि समेत बोलाएको थियो।
पार्टीभित्र रेशम र रञ्जिता बीचको मतभेद नयाँ होइन। सुदूरपश्चिमको सत्ता समीकरणदेखि केन्द्रमा कांग्रेस वा माओवादीसँग सहकार्य गर्ने विषयसम्म दुवैको दृष्टिकोण फरक रहेकाले नाउपाको आन्तरिक सन्तुलन बिग्रँदै गएको हो। जनमत पार्टीसँग एकता प्रक्रियामा पनि श्रेष्ठ असन्तुष्ट देखिएकी थिइन्।
पार्टीभित्रको तनाब एकपटक २०८१ असोजमा मिलेको घोषणा गरिएको थियो। तर, त्यसपछि फेरि विवाद सतहमा आयो। २०८१ असारमै श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइएको थियो। पछिल्लो निर्णयसँगै श्रेष्ठको नेतृत्व औपचारिक रूपमा समाप्त भएको छ भने पार्टीको नियन्त्रण पुनः रेशम पक्षमा केन्द्रित भएको देखिएको छ।
नाउपाको आगामी रणनीति, अध्यक्ष पदमा नयाँ नेतृत्व चयन तथा रेशम चौधरीको भूमिका के हुने भन्नेबारे अबको राजनीतिक गतिविधिले स्पष्ट पार्नेछ।