राष्ट्रिय भेलाले अनुमोदन गर्ने तयारी, नाउपाबाट रञ्जिता श्रेष्ठ अध्यक्ष पदबाट हटाइयो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाइएको छ। पार्टीले उनीमाथिको अनुशासन कारबाही निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता गराएको छ।

पार्टी स्रोतका अनुसार, अध्यक्ष श्रेष्ठले विधान विपरीत पोखराको ‘लिचीबारी घुसकाण्ड’मा मुछिएपछि शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको निर्णयप्रति तीव्र असन्तुष्टि पार्टीभित्र देखिएको थियो। सोही निर्णयलाई लिएर अनुशासन समितिले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको थियो।

तर समयमै जवाफ नआएपछि रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो। समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य रहेका छन्।

पार्टीको राष्ट्रिय भेला हाल मध्यबानेश्वरमा जारी छ, जसले अनुशासन समितिको निर्णयलाई अनुमोदन गर्ने तयारी गरिरहेको छ।

निर्वाचन आयोगमा नाउपाले उक्त निर्णयको जानकारी मंगलबार आधिकारिक रूपमा दर्ता गराएको छ। यससँगै श्रेष्ठको औपचारिक अध्यक्षता अन्त्य भएको छ भने पार्टीमा नेतृत्वको नयाँ चरण सुरु हुने संकेत देखिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज