काठमाडौं । टोखामा बरामद २५ करोड रुपैयाँ प्रकरणमा ट्रक चालक (भरिया) जेल चलान भएका छन्, तर मुख्य मालिक नारायण पौडेल भने ३५ लाख धरौटी बुझाएर रिहा भएका छन्।
गत ४ चैतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखास्थित झोरबाट चीनको केरुङतर्फ जान लागेको ना७ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर लुकाइएका १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलरसहित चालक कुसाङ लामा पक्राउ गरेको थियो। तत्कालीन विनिमय दरअनुसार यो रकम करिब २५ करोड १९ लाख रुपैयाँ बराबर पर्थ्यो। अनुसन्धानपछि लामा उक्त रकमको भरिया मात्र रहेको खुलेको थियो।
यसपछि ३ वैशाखमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सिन्धुपाल्चोक भोटेकोशी–१ का लामा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दियो। तर, सोही मुद्दाका मुख्य मालिक सिन्धुपाल्चोक भोटेकोशी–४ का ३५ वर्षीय नारायण पौडेल भने फरार रहेर पछि सुटुक्क अदालत उपस्थित भई रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको ३२ असारको इजलासले पौडेललाई ३५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जनाएका छन्। अदालतको आदेशपछि तोकिएको ३५ लाख धरौटी बुझाएर पौडेल बाहिरिएका हुन्।
यस्तोमा एउटै मुद्दामा भरिया जेलमा हुँदा मालिक धरौटीमा सजिलै छुट्नुले न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ। सीसीटीभी फुटेजमा पौडेलकै संलग्नतामा रकम ट्रकमा राखिएको देखिएको र फोन सम्पर्कका प्रमाण समेत फेला परे पनि उनी धरौटीमा छुट्दा प्रहरी र राजस्व अनुसन्धान विभागका अधिकारीहरू अचम्मित बनेका छन्।
बरामद रकम, ट्रक र चालक लामालाई राजस्व अनुसन्धान विभाग, हरिहरभवनमा बुझाइएको थियो। विभागले यो रकम विदेशी विनिमय ऐनअन्तर्गतको उल्लङ्घन भएको भन्दै पौडेल र लामाविरुद्ध मुद्दा दायर गरेको थियो।