काठमाडौं । कानून व्यवसायीहरूको नेतृत्व विकासका लागि काम गर्ने संस्था तथा कम्पनीहरूलाई नेपाल कानून व्यवसायी परिषद् र नेपाल बार एशोसिएशनबाट आवश्यक सहयोग प्रदान गरिने भएको छ।
ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको आयोजनामा र जनअधिकार संरक्षण मञ्चको प्राविधिक सहयोगमा साउन ३ गतेदेखि १० गतेसम्म सञ्चालित आधारभूत मेलमिलाप तालिमको उद्घाटनमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजय प्रसाद मिश्रले यस्तो जानकारी दिनुभएको हो।
उहाँले स्थापनाकालदेखि नै कानूनी सशक्तिकरण, संस्थागत विकास र नेतृत्व निर्माणमा क्रियाशील ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको सेवा र तालिमको गुणस्तरको प्रशंसा गर्नुभयो।
तालिम ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको सभाहलमा मेलमिलाप अभियन्ता तथा प्रशिक्षक शतिषकुमार शर्माको नेतृत्वमा सञ्चालन भइरहेको छ।
विभिन्न विधाका तालिमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको ज्ञानपुञ्जले यही साउन ११ गतेदेखि व्यावसायिक मध्यस्थता तालिम (Professional Arbitration Training) सञ्चालन गर्न लागेको छ। उक्त तालिम नेपाल इन्टरनेसनल एडीआर सेन्टर (NIAC) को सहकार्यमा सञ्चालन हुनेछ।
त्यस्तै, साउन १७ गतेदेखि २४ गतेसम्म पुनः आधारभूत मेलमिलाप तालिम सञ्चालन हुने आयोजक संस्थाले जानकारी दिएको छ।