काठमाडौं । निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा भएको गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेसँग बयान लिएको छ। मंगलबार सिंहदरबारस्थित समितिको कक्षमा महासचिव पाण्डेसँग सोधपुछ गरिएको हो।
समितिका सभापति तथा कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा भएको बैठकमा महासचिव पाण्डेलाई विधेयकमा भएको त्रुटि कसरी भयो भन्नेबारे सोधिएको थियो। पाण्डेका अनुसार सोधपुछमा उनले विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी त्रुटि ‘ह्युमन इरर’ का कारण भएको बताएका छन्।
‘यो मानवीय त्रुटि हो,’ पाण्डेले भने, ‘सांसदहरूले पनि ध्यान दिनुपर्थ्यो, कर्मचारीहरूले पनि चेक गर्नुपर्थ्यो। तर कसैको ध्यान गइन।’
निजामती सेवा विधेयकमा अवकाश लिएको वा राजीनामा दिएको कर्मचारीले दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा अन्य महत्वपूर्ण पदमा नियुक्ति लिन नपाउने भन्ने सहमति राज्य व्यवस्था तथा सुशासन समितिबाट पहिले नै भइसकेको थियो। तर, विधेयक पास गर्ने क्रममा उक्त प्रावधान कार्यान्वयनमा नलाग्ने गरी भाषिक संशोधन गरिँदै समावेश गरिएको भेटिएको छ।
विधेयकको मूल मर्म विपरित निष्क्रिय बनाउने खालको भाषा प्रतिवेदनमा कसरी समावेश भयो भन्नेबारे समितिले थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ।
स्रोतका अनुसार अब समितिले सचिवालयका अन्य जिम्मेवार व्यक्तिहरूलाई पनि बयानमा बोलाउने तयारी गरेको छ। विधेयकमा देखिएको गम्भीर त्रुटिबारे जिम्मेवारी तोक्न समिति लागिपरेको छ।