मोरङ । मोरङको धनपालथान गाउँपालिका–५ का २२ वर्षीय अनिष सरदारलाई ७ वर्षीया भतिजीमाथि बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत मोरङले आजीवन कारावासको सजाय सुनाएको छ।
जिल्ला अदालत मोरङका स्रेस्तेदार मणिराम पोखरेलका अनुसार थुनछेक बहसकै दिन सोमबार न्यायाधीश बाबुराम सुवेदीको इजलासबाट सरदारलाई जन्मकैदको फैसला सुनाइएको हो। अदालतले सरदारलाई ७ लाख रुपैयाँ जरिवाना र मृतक बालिकाका परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत आदेश दिएको छ।
अभियोग अनुसार, सरदारले असार १४ गते राति आफ्नै घरमा सुतिरहेकी भतिजीमाथि बलात्कार गरी हत्या गरेका थिए। उनले बालिकाको शव करिब सय मिटर टाढा रहेको दुर्गा आधारभूत विद्यालय नजिक फालिदिएका थिए।
घटनापछि पक्राउ परेका सरदारमाथि मोरङ प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा अभियोगपत्र पेश गरेको थियो। सोमबार भएको बयानमा सरदारले अपराध स्वीकार गरेका थिए।
अदालतले मुलुकी अपराध संहिता दफा ४१ अनुसार सजाय तोकेको हो।