रात्री विसान गर्न जहाज काठमाडौं बाहिर लैजानुपर्ने क्यानकाे निर्णय सर्वोच्च अदालतबाट ३ वर्षपछि सदर, सिम्रिक एयरको रिट खारेज

काठमाडौं । वायुसेवा कम्पनीका सबै जहाज राती काठमाडाैंमा राख्न नपाउने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)काे निर्णय सर्वोच्च अदालतबाट ३ वर्षपछि सदर भएको छ । आन्तरिक वायुसेवाले काठमाडौं बाहिर जहाज राख्नुपर्ने गरी (क्यान)ले गरेको २०७९ असार ५ गतेको निर्णयलाई मान्नुपर्ने बाध्यकारी व्यवस्था भएको छ ।

हवाई जहाज सञ्चालक कम्पनीहरुले तोकिएको आधार (अपरेसन वेस) विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने निर्णय ३ वर्ष अगाडि क्यानले गरेको थियो । क्यानको उक्त निर्णयपछि काठमाडौंमा आधार बनाएर बसेको आन्तरिक वायुसेवाको जहाज रात्री बिसानका लागि काठमाडौं बाहिर जानुपर्ने भयो ।

क्यानको सो निर्णयमा चित्त नबुझाएर वायुसेवा सञ्चालक संघका तत्कालीन अध्यक्ष तथा सिम्रिक एयर हेलिकप्टरका सञ्चालक रामेश्वर थापाले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उनले प्राधिकरणको निर्णय खारेजीको माग गरेका भए पनि सर्वोच्चले प्राधिकरणलाई उक्त निर्णय कार्यान्वयन नगर्न तत्कालै अन्तरिम आदेश दिएको थियो ।

मंगलबार (३२ असार)मा भएको सर्वोच्चको फैसलाबाट भने सिम्रिक एयरले हालेको उक्त रिट खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासले उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयसमेतलाई विपक्षि बनाएर २०७९ असार १४ मा हालेको रिट खारेज गरेको छ ।

सर्वोच्चको उक्त फैसलासँगै उड्डयन प्राधिकरणले गरेको आन्तरिक वायुसेवाले त्रिभुवन विमानस्थल बाहिर रात्री विसान गराउनुपर्ने गरी गरेको निर्णय मान्नुपर्ने बाध्यकारी भएको छ ।

सर्वोच्च अदालतको फैसलासँगै आन्तरिक वायुसेवाका फिंक्स विंग्स र हेलिकप्टर कम्पनी दुबैले तोकिएको आधार विमानस्थलबाट रात्री विसान गरी सोही विमानस्थलबाट पहिलो उडान गर्नुपर्ने भएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज