सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दिउँसो करिब १:४५ बजे कल्याणपुर नगरपालिकाको कार्यालय परिसरबाट मेयर साहलाई पक्राउ गरेको हो।
अख्तियारका अनुसार साहले उपभोक्ता समितिबाट विकास निर्माणसँग सम्बन्धित कार्यको पूर्ण भुक्तानीका लागि घुस मागेका थिए। उक्त घुस रकम लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
अख्तियार स्रोतले जानकारी दिएको अनुसार घटनास्थलमा मुचुल्का तयार पारेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप विवरण सार्वजनिक गरिँदैछ।