घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताको राजीनामा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो नाम घुस काण्डमा जोडिएपछि पदबाट राजीनामा दिएका छन्। अडियो सार्वजनिक भएसँगै चौतर्फी दवावमा परेका गुप्ताले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको जानकारी गराएका हुन्।

गुप्ताले आफ्नो राजीनामाको कारण स्पष्ट पार्दै लेखेका छन्, “विगत केही दिनदेखि मेरो नाम घुस डिलसँग जोडेर प्रचार भएको छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ। सत्य तथ्य बाहिर आउन सकोस् भनेर मैले प्रधानमन्त्रीज्यू समक्ष राजीनामा दिएको हुँ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए। सो निर्देशनपछि मन्त्री गुप्ताले फेसबुक स्टाटसमार्फत राजीनामा दिएका हुन्।

गुप्तामाथि भूमि आयोगको नियुक्ति र जग्गा सम्बन्धी काम गरिदिने भन्दै रकम लिएको अडियो सार्वजनिक भएको थियो। अडियोमा पोखराको एक जग्गा प्रकरण र कास्कीको भूमि आयोग अध्यक्ष नियुक्तिको विषयमा गरिएको छलफलसमेत समावेश छ।

गुप्तामाथि मालपोत कार्यालयहरूमा सरुवा तथा धम्की दिएको आरोपसमेत लागेको छ। आरोप अनुसार, उनले फोनमार्फत सरुवा गरिदिने वा नोक्सान पु¥याउने चेतावनी दिएका थिए।

एक वर्षमै बहिर्गमन
गुप्ता २०८१ असार ३१ गते मन्त्री नियुक्त भएका थिए। ठीक एक वर्षपछि अर्थात् २०८२ असार ३१ गते उनले राजीनामा दिएका हुन्। उनी नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

राजीनामापछि उनले प्रविधिको दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै लेखेका छन्, “प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबुन् भन्ने अपेक्षा राखेको छु। अब फेरि एकपटक पार्टीले दिएको जिम्मेवारी जनताको घरदैलोमा पुगी पूरा गर्ने प्रण गर्दछु।”

यस घुस प्रकरणले सरकारको नैतिकता र पारदर्शिताप्रति गम्भीर प्रश्न उठाएको छ। विपक्षी दलहरूले गुप्तामाथि कडा अनुसन्धान र कानुनी कारबाहीको माग गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज