काठमाडौं। त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवा नफर्किने, तोकिएको डिग्री नपुगाउने र भित्र खाईपाई आएको तलब–भत्ता ब्याजसहित फिर्ता गर्न अल्टिमेटम दिएको छ। अध्ययन बिदाको दुरुपयोगसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि त्रिविले आइतबार सूचना प्रकाशित गरी बिदाको नाममा आर्थिक अनुशासन तोड्नेलाई कारबाही प्रक्रिया सुरु गरेको हो।
त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थानसहित अन्य संकाय तथा संस्थानमा कार्यरत दर्जनौं शिक्षकले अध्ययन बिदा सकिएपछि सेवा निवृत्त गर्ने, अध्ययन अधुरै छोड्ने र त्रिविसँग कुनै समन्वय नगरी वैदेशिक भूमिमा स्थायी बसोबास गर्ने गरेका छन्। पाँच महिनासम्मको अनुसन्धानपछि त्रिविले सार्वजनिक गरेको तथ्यांकअनुसार ३९८ जना प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गरेका छन्।
मानविकी तथा सामाजिकशास्त्र संकायका ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका १०६ जना, इन्जिनियरिङ अध्ययन संस्थानका ९९ जना, वन विज्ञान अध्ययन संस्थानका २८ जना, व्यवस्थापन संकायका १९ जना, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका १३ जना, शिक्षाशास्त्र र चिकित्साशास्त्र संकायका ९/९ जना तथा कानुन संकायका १ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेका छन्।
छानबिन प्रतिवेदनअनुसार बिदा लिएर तोकिएको डिग्री नपुगाउने २०७ जना र बिदा सकिएपछि सेवा नफर्किने १९१ जना गरी कुल ३९८ जनाले त्रिविको नियम उल्लंघन गरेका हुन्। विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा नियमावली २०५० अनुसार अध्ययन बिदा लिएर फर्किएपछि न्यूनतम तीनदेखि पाँच वर्षसम्म सेवा गर्नुपर्ने व्यवस्था छ। त्यसबाहेक, ९० दिनसम्म विनासूचना अनुपस्थित भएमा बर्खास्त गर्न सकिने कानुनी प्रावधानसमेत त्रिविको नियममा स्पष्ट छ।
अध्ययन बिदा जाने बेला त्रिविका प्राध्यापकले तीन साक्षीसहित कबुलियतपत्रमा हस्ताक्षर गरी बिदा अवधिको सम्पूर्ण तलब–भत्ता ब्याजसहित फिर्ता गर्ने प्रतिवद्धता जनाउने व्यवस्था भए पनि धेरैले पालना नगरेको पाइएको छ। कतिपय प्राध्यापकले बिदाको नाममा पाँच वर्षसम्म त्रिविबाट तलब लिएर अमेरिका, अष्ट्रेलिया, क्यानडा र युरोपका देशमा स्थायी बसोबास गरेका छन्।
यस्ता दुरुपयोगकर्ताबाट उठाइने करिब २ अर्ब रुपैयाँ त्रिविले निवृत्तिभरण कोष वृद्धिमा राख्ने निर्णय गरेको छ। आर्थिक वर्ष २०८२/८३ को बजेटमै सो व्यवस्था उल्लेख गरिएको छ। त्रिविका रजिस्ट्रार केदार रिजालले अध्ययन बिदा दुरुपयोग गर्नेहरूसँग रकम असुली सुरु भइसकेको बताए। उनका अनुसार छानबिन समितिको प्रतिवेदनका आधारमा त्रिविले नियमअनुसार कारबाही अघि बढाएको छ।