काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हालै सम्पन्न स्पेन भ्रमणपछि उठेका विवादहरूप्रति गृहमन्त्री रमेश लेखकले गम्भीर चासो व्यक्त गरेका छन्। मन्त्री लेखकले स्पेन गएका तर नेपाल नफर्किएका व्यक्तिहरूबारे गहिरो अनुसन्धान गर्न गृह सचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरीका महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन्।
उनले स्पेन भ्रमणमा प्रधानमन्त्रीको प्रतिनिधिमण्डल बाहेक अन्य को–को सहभागी भए, कुन प्रक्रियामार्फत उनीहरू गएका थिए भन्नेबारे स्पष्ट विवरण संकलन गर्न आदेश दिएका छन्। गृहमन्त्री लेखकको सचिवालयका अनुसार, “भ्रमणका लागि भिजिट भिसाको व्यवस्था कसले गर्यो, कुन संस्था संलग्न थियो भन्नेबारे पनि विस्तृत छानबिन हुनेछ।”
यस प्रकरणमा मानव तस्करीको आशंका समेत उठेका छन्। गृहमन्त्रीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई खटाएर अनुसन्धान अघि बढाउने निर्णय गरेका छन्।
“यदि कसैले भ्रमणको नाममा गैरकानुनी ढंगले विदेश पठाएको प्रमाणित भयो भने ती सबैमाथि कडा कारबाही हुन्छ,” गृहमन्त्री लेखकले स्पष्ट पारे।
यसअघि, स्पेन भ्रमणको बहानामा असुली गरेर व्यक्तिहरू विदेश पठाउने गिरोह सक्रिय रहेको आशंकामा प्रहरी र गृह मन्त्रालय सतर्क बनेका छन्। प्रधानमन्त्री ओली गत १४ असारमा स्पेन गएका थिए भने हालसम्म केही सहभागीहरू नेपाल नफर्किएको भन्ने गुनासोहरू सार्वजनिक भएका छन्।
सरकारले यस विषयमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्ने प्रतिबद्धता जनाउँदै सत्य तथ्य बाहिर ल्याउने तयारी थालेको छ।