काठमाडौं । आर्थिक विधेयकले गरेको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत सुनचाँदी व्यवसायीसँग सरकारको ६ बुँदे सहमति गरेको छ । यो सहमतिसँगै सुनचाँदी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । विहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
विरोधका कार्यक्रम स्थगित गरिएकाले शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।
सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले पसल बन्द गरेकाले सुनचाँदीको भाउ समेत तोकिएको थिएन ।
विहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा कर र भ्याटका विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने र कार्यदलले अध्ययन गरेर प्रतिवेदन पेस गर्ने बेलासम्म बजेटमार्फत वृद्धि भएको कर र भ्याट लागु नहुने सहमति भएको हो ।

