काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नयाँ उपकुलपतिका रूपमा प्रा.डा. दिपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको अध्यक्षतामा गठन भएको सिफारिस समितिले प्रा.डा. दिपक अर्याल, प्रा.डा. खड्ग केसी र प्रा.डा. विनिल अर्याल तीनजनाको नाम सिफारिस गरेको थियो । सोही सूचीमा परेका तीन उम्मेदवारमध्येबाट प्रा.डा. दिपक अर्याललाई चयन गरिएको हो।
त्रिविको शैक्षिक, प्रशासनिक र नीतिगत नेतृत्व सम्हाल्ने जिम्मेवारीसहित अब प्रा.डा. अर्यालले चार वर्षे कार्यकाल सुरु गर्नेछन्। शिक्षा क्षेत्रमा लामो अनुभव र योगदान बोकेका अर्याल यसअघि पनि त्रिविका विभिन्न निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।
उपकुलपति चयन प्रक्रिया केही समयदेखि चर्चामा थियो। योग्य उम्मेदवारको छनोट गर्न गठित समितिले विस्तृत छलफलपछि तीन व्यक्तिको नाम मन्त्रिपरिषद् समक्ष पेस गरेको थियो।
प्रा.डा. अर्यालको नियुक्तिपछि त्रिविमा नयाँ नेतृत्वसँग शिक्षाको गुणस्तर सुधार र विश्वविद्यालयको संस्थागत सुदृढीकरणप्रति आशा व्यक्त गरिएको छ।