काठमाडौं । सर्वोच्च अदालतमा हालै नियुक्त भएका तीन जना न्यायाधीशले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ ग्रहण गरेका हुन् ।
न्याय परिषद्ले गत जेठ २७ गते उनीहरूलाई सर्वोच्च अदालतमा न्यायाधीश पदका लागि सिफारिस गरेको थियो भने मंगलबार संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेको हो ।
शपथ लिएसँगै तीनै जना न्यायाधीशलाई सर्वोच्च अदालतमा इजलास तोकिएको छ । गोलाप्रथाबाट गरिएको इजलास तोकाइअनुसार न्यायाधीश मेघराज पोखरेलले न्यायाधीश विनोद शर्मासँग, न्यायाधीश शान्तिसिंह थापाले न्यायाधीश कुमार चुडालसँग र न्यायाधीश श्रीकान्त पौडेलले न्यायाधीश मनोजकुमार शर्मासँग संयुक्त इजलासमा कार्य गर्नेछन् ।