काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्का एक सदस्यको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यो निर्णय गरेको हो।
अनुमोदन प्राप्त गर्नेहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका प्रमुख न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी प्रमुख न्यायाधीश शान्तिसिंह थापा छन्।
त्यस्तै, न्याय परिषद्का सदस्यमा महेशकुमार नेपालको नाम अनुमोदन गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।
यद्यपि, बैठकमा नेकपा (माओवादी केन्द्र) सहभागी भएन। माओवादी केन्द्रले नामको व्यक्तिगत रुपमा विरोध नरहे पनि समावेशीताको सवाल उठाउँदै बैठक नै बहिष्कार गरेको हो।
सुनुवाइ प्रक्रिया अन्तर्गत संसदीय समितिबाट अनुमोदन भएपछि सम्बन्धित पदाधिकारीहरूले चाँडै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने अपेक्षा गरिएको छ।