काठमाडौं । संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी हेरफेरको छानबिनका लागि गठित विशेष समितिका सदस्यहरुको नाम टुंगो लागेको छ । आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यहरुको नाम औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेका छन् ।
छानबिन समितिमा प्रमुख पाँच दलका सात जना सांसद रहनेछन् । नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोशन कार्की समितिमा रहने पक्का भएको छ ।
स्रोतका अनुसार सोमबार सभामुखसँगको छलफलमा दलहरुले आ–आफ्नो तर्फबाट प्रतिनिधि पठाउने सहमति जनाएका थिए । त्यसअनुसार प्राप्त नाम सभामुखको सचिवालयले सार्वजनिक गरेको हो ।
संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएको निजामती सेवा विधेयकमा दुई वर्षको ‘कुलिङ पिरियड’को व्यवस्था स्पष्ट थियो । तर प्रतिनिधि सभाबाट पारित हुँदा सो व्यवस्था निष्प्रभावी हुने गरी प्रावधान थपिएको भन्दै तीव्र आलोचना भएको थियो ।
राजनीतिक वृत्तमै व्यापक विवाद र असन्तुष्टि उत्पन्न भएपछि उक्त हेरफेर कसरी, कहाँ, कसले गर्यो भन्नेबारे छानबिन गर्न विशेष समिति गठन गरिएको हो ।
समितिलाई विधेयकमा हेरफेरमा संलग्नको पहिचान गरी कारबाही सिफारिस गर्ने, र यस्ता घटनाहरू पुनः नदोहरिने उपाय सुझाउने कार्यादेश दिइने तयारी छ ।