उपभोक्ता अदालतको फैसला विवादित, सोमबार आकस्मिक बाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौँ । उपचारमा लापरवाही भएको भन्दै चिकित्सक र स्वास्थ्य संस्थामाथि उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला गरेपछि त्यसको विरोधमा नेपाल चिकित्सक संघले सोमबार देशभर आकस्मिक सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

नेपाल चिकित्सक संघको आकस्मिक बैठकले स्वास्थ्यकर्मीको पेशागत स्वतन्त्रता र सुरक्षामाथि गम्भीर असर पर्नेगरी गरिएको निर्णयको विरोधमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो। संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिएको छ।

विज्ञप्तिअनुसार संघले शुक्रबार नै देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाइसकेको छ। आइतबार देशभरका चिकित्सकहरू कार्यस्थलमै एक घण्टे धर्नामा सहभागी हुनेछन्। सोमबार आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिनेछ भने मंगलबार असार २४ गते चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलमा आफ्नो प्रमाणपत्र बुझाउने कार्यक्रम राखिएको छ।

नेपाल चिकित्सक संघको नेतृत्वमा सुरु भएको आन्दोलनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य नौवटा पेशागत संघसंस्थाले ऐक्यबद्धता जनाएका छन्। चिकित्सकहरूको तर्क छ कि उपभोक्ता अदालतको निर्णय चिकित्सकहरूको नैतिकता र व्यावसायिक स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप हो। उनीहरूको दाबीअनुसार यस्तो फैसला सम्पूर्ण स्वास्थ्य प्रणालीमै गम्भीर संकट ल्याउने खालको छ।

संघले सरकारले यस विषयमा शीघ्र ध्यान नदिएमा थप कडा आन्दोलनमा जानुपर्ने चेतावनीसमेत दिएको छ। संघले अदालतको निर्णय खारेज गर्न माग गर्दै सरकारसँग संवादको प्रक्रिया पनि अघि बढाउने जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज