कुलिङ पिरियडसम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिनिधिसभा, राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सो प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।
“विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको होइन । यो सुनियोजित तरिकाले गरिएको हुनसक्छ । यसको जिम्मा नैतिक रूपमा संसद्को नेतृत्वले समेत लिनुपर्छ”, सापकोटाले भन्नुभयो ।
उहाँले नेपाल शिक्षक महासङ्घसँग संसद्बाट असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भए पनि हालसम्म पारित नहुन दुःखद् भएको टिप्पणी गर्नुभयो । सहमति कार्यान्वयन गर्नुपर्नेमा सरकारका सरोकार भएका पक्षहरूबीचको अन्तरविरोध बाहिर देखिनुले सरकार सहमतिप्रति गम्भीर नभएको पुष्टि हुन्छ”, उहाँले भन्नुभयो ।
प्रवक्ता सापकोटाले शिक्षा विधेयक यथाशीघ्र पारित गरी शिक्षकलाई आन्दोलनका लागि बाध्य नपार्न आग्रह गर्नुभयो । माओवादीले विपद्बाट हुनसक्ने क्षतिको पूर्वानुमान गर्दै क्षति कम गर्न र राहत तथा उद्धारमा आवश्यक तयारी गर्न सरकारसँग माग गरेको छ ।
प्रवक्ता सापकोटाले कृषि क्षेत्रको समग्र समस्या समाधान गर्दै कृषकहरूलाई आवश्यक पर्ने मल, बीउ तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सम्बन्धित समाचार

ताजा न्यूज