काठमाडौं । ज्यान मार्ने उद्योगको अभियोगमा पक्राउ परेका व्यक्तिहरूलाई पक्राउ पुर्जीसमेत सदर नगरी रिहा गराएको भन्दै ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ।
ललितपुरको सानेपा खरिबोटमा २०८२ असार ८ गते ४२ वर्षीय दीपक शाक्यमाथि बियरको बोतल र हेल्मेट प्रहार गरी आक्रमण गरेको आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय महेन्द्र रावल र कैलालीको लम्कीचुवा नगरपालिका–६ का धर्मराज खड्का पक्राउ परेका थिए। ती दुबैलाई अदालतले छाड्ने आदेश दिएको भन्दै पीडित पक्षले न्याय परिषद्मा उजुरी दिएका हुन्।
पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले सीसीटीभी फुटेज अध्ययन गरेर आक्रमणमा संलग्नमध्ये ३ जनामध्ये दुई जनालाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरूलाई ‘जरुरी पक्राउ पुर्जी’ मार्फत नियन्त्रणमा लिई म्याद थप गरेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरेको थियो। तर न्यायाधीश कोइरालाले १० असारमा ती अभियुक्तहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको ठहर गर्दै रिहा गर्न आदेश दिएका थिए।
पीडित पक्षले आक्रमणको स्पष्ट सीसीटीभी फुटेज, सुमेरु अस्पतालको आईसीयूमा भएको उपचार विवरण, घाउजाँच फारामजस्ता प्रमाण हुँदाहुँदै पनि न्यायाधीशले अभियुक्तहरूलाई रिहा गरेकोमा आपत्ति जनाएका छन्। उनीहरूले न्यायाधीश कोइरालाविरुद्ध छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।
उजुरीमा न्याय परिषद् ऐन, २०७३ को दफा १० (घ) बमोजिम स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै पनि त्यसको उपेक्षा गरी व्याख्या परिवर्तन गरेको आरोप लगाइएको छ। साथै दफा १० (झ) अनुसार पदीय जिम्मेवारी निर्वाह गर्न आवश्यक कार्यक्षमता नदेखिएको भन्दै कारबाहीको माग गरिएको छ।
न्यायाधीश कोइरालाको विगत पनि विवादास्पद रहँदै आएको छ। २०८० सालको भदौ २७ गते उनले अनुयायी बलात्कारको आरोप लागेका धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अभियोग दाबी नपुगेको भन्दै सफाइ दिएका थिए।
न्याय परिषद् स्रोतका अनुसार न्यायाधीश कोइरालाविरुद्ध उजुरी दर्ता भइसकेको छ र सो विषयमा प्रारम्भिक छानबिन भइरहेको छ।