काठमाडौं । भिजिट भिसामा अख्नियाको छानविनसँगै सेटिङ गर्नेहरु तर्सिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जाने नेपालीको संख्या घटेको छ। अध्यागमनमार्फत संगठित असुली भइरहेको सूचनापछि अख्तियारले थालेको अनुसन्धान र अध्यागमन विभागको कडाइले प्रभाव देखिन थालेको हो।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, पहिले दैनिक ९ देखि १० हजारसम्म विदेश जाने गरेकोमा अहिले त्यो संख्या ६ हजारदेखि ७ हजारको हाराहारीमा झरेको छ। उनका अनुसार कागजातमा कडाइ, निगरानी र छानबिनकै असरस्वरूप यो कमी आएको हो।
यसैबीच दुबई लगायतका गन्तव्यमा हवाई भाडा घटेपछि यात्रुको चापमा पनि कमी आएको देखिएको छ।
पूर्वअध्यागमन प्रमुख तीर्थराज भट्टराईको कार्यकालमा चार महिनामा २१२ जना भारतीय नागरिकलाई विना एनओसी तेस्रो मुलुक पठाइएको खुलेको थियो। सो प्रकरणपछि भारतीय दूतावासले आपत्ति जनाउँदै निगरानी बढाउन आग्रह गरेको थियो। त्यसयता भारतीय नागरिकलाई काठमाडौं हुँदै तेस्रो मुलुक जान कडाइ गरिएको छ।
अख्तियारका अनुसार विना एनओसी मात्र होइन, नक्कली कागजात बनाइ भारतमा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई पनि पठाइएको पाइएको छ।
भारतमा साढे ९५ किलो सुन तस्करी प्रकरणमा मोस्ट वान्टेड घोषित जागेश्वर शाहलाई दूतावासको सिफारिसमा १९ मार्च २०२५ मा अध्यागमनको कालोसूचीमा राखिएको थियो। तर भोलिपल्टै उनी त्रिभुवन विमानस्थलबाट दुबई प्रस्थान गरेका थिए। उनका छोरा आशिफ शाह भने सो भन्दा अघिनै काठमाडौंबाट उडिसकेको पुष्टि भएको छ। यो प्रकरण गृह प्रशासनले ‘प्राविधिक त्रुटि’ भन्दै टारेको थियो।
विमानस्थलमा लामो समयदेखि भिजिट भिसाका नाममा संगठित असुली भइरहेको गुनासोपछि अख्तियारले झण्डै डेढ महिनाअघि गोप्य अनुसन्धान सुरु गरेको थियो। ५ जेठबाट कोभर्ट अपरेसन सुरु गरिएको थियो। तर तेस्रो दिनमै सूचना चुहिएपछि तत्कालीन प्रमुख भट्टराईको सरुवा गरिएको थियो। भोलिपल्टै अख्तियारले कार्यालयमै छापा मारेर उनलाई नियन्त्रणमा लिएको थियो।
यस घटनापछि गृहमन्त्री रमेश लेखकको भूमिकामाथि पनि प्रश्न उठेको छ। मन्त्रीको सचिवालयमै भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारी कार्यरत रहेको तथ्य सार्वजनिक भइसकेको छ।
अख्तियारले भट्टराईका तीनवटा मोबाइल जफत गरी अनुसन्धान अघि बढाएको छ। हाल विना एनओसी, नक्कली कागजात र संगठित असुलीमा संलग्न कर्मचारी पहिचानमा केन्द्रीत भएर थप प्रमाण संकलन भइरहेको छ।

