नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतमाथि आज सजाय सुनाइँदै

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहर भएका नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतमाथि सोमबार विशेष अदालतले सजाय तोक्नेछ। अदालतले उनीविरुद्ध गत जेठ १६ गते सुनुवाइको मिति तोकेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध ९ करोड २२ लाख रुपैयाँभन्दा बढी रकम घुसस्वरूप लिएको अभियोगमा मुद्दा दायर गरेको थियो। उक्त रकम पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट लिएको ठहर अदालतले गरिसकेको छ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासमा आज बस्नेतसँगै दोषी ठहर भएका कँडेलमाथि पनि सजाय निर्धारण गरिनेछ। यद्यपि, बस्नेतकी श्रीमती उर्मिला बस्नेतलाई भने अदालतले सफाइ दिएको छ।

अख्तियारले मुद्दामा १३ करोड १२ लाख रुपैयाँभन्दा बढीको बिगो, त्यसको दोब्बर जरिवाना तथा १० वर्षसम्म कैद सजायको माग गरेका थिए। साथै, बस्नेतले पदाधिकारीको हैसियतमा भ्रष्टाचार गरेको ठहर भएकाले थप १० प्रतिशत सजाय मागसमेत अभियोगपत्रमा उल्लेख गरिएको छ।

यो मुद्दाले सार्वजनिक पदमा बसेका व्यक्तिबाट गरिएको भ्रष्टाचारप्रति शून्य सहनशीलताको सन्देश दिनुको साथै, राजनीतिक तहसम्मका व्यक्ति पनि कानूनी दायरामा आउन सक्ने पुष्टि गरेको कानुन व्यवसायीहरू बताउँछन्।

अब अदालतले बस्नेत र कँडेलमाथि कस्तो सजाय तोक्छ भन्नेमा आम चासो केन्द्रित भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज