टेरामक्स भ्रष्टाचार प्रकरणमा निलम्बित सांसद बस्नेत विशेष अदालतमा उपस्थित

काठमाडौं ।  टेरामक्स प्रविधि खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा संलग्न ठहर गरिएका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दापछि उनी निलम्बित सांसदको हैसियतमा बयान दिन अदालत पुगेका हुन्।

विशेष अदालतमा बस्नेतको बयान हाल जारी छ भने आजै थुनछेक बहससमेत हुने तयारी गरिएको छ। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्नेबारे निर्णय लिनेछ।

नेपाल दूरसञ्चार प्राधिकरणको  टेरामक्स प्रविधि खरिदमा अनियमितता भएको भन्दै अख्तियारले बस्नेतसहित १६ जना व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। मुद्दामा पूर्व कानुन सचिव धनराज ज्ञवाली र दुई निजी कम्पनीसमेत प्रतिवादी बनाइएको छ।

बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दा उक्त प्रविधि खरिदमा अनियमितता भएको भन्दै आयोगले भ्रष्टाचारको आरोप लगाएको हो। अख्तियारका अनुसार खरिद प्रक्रियामा देखिएको मिलेमतोका कारण राज्यलाई आर्थिक क्षति पुर्‍याइएको छ।

मुद्दा दायर भएसँगै बस्नेत संसदबाट स्वतः निलम्बनमा परेका हुन्। हाल उनी कानुनी प्रक्रियामा सहभागी हुँदै बयानका लागि अदालतमा उपस्थित भएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज