काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेलले आफू न्यायाधीश बनेपछि कुनै दबाब, प्रभाव वा प्रलोभनले असर नपार्ने गरी निर्णय गर्ने प्रतिवद्धता जनाएका छन्। आइतबार सिंहदरबारमा बसेको संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले निष्पक्ष र स्वतन्त्र न्यायिक प्रणालीको आवश्यकता औंल्याए।
“कानून व्यवसायीहरू कुनै न कुनै पक्षमा काम गर्छन्, तर न्यायाधीशले तटस्थ रहनुपर्छ। म न्यायाधीश भएँ भने आफ्नो पूर्वभूमिका परिवर्तन गरी संविधान, कानून र न्यायकै पक्षमा अब्बल सावित हुनेछु,” पोखरेलले भने।
उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच सन्तुलित सम्बन्ध हुनुपर्नेमा जोड दिए। न्यायाधीशका रूपमा काम गर्दा धम्की, दबाब र प्रलोभन आउन सक्ने सम्भावनालाई स्वीकार गर्दै उनले भने, “यस्ता सबै चुनौतीभन्दा माथि उठेर निर्णय गर्न सक्ने अडान लिन्छु।”
संविधानको सीमाभित्र रही सबै अंगले काम गर्नुपर्ने उल्लेख गर्दै पोखरेलले भने, “संविधानको परिधिभित्र काम नगर्दा मुलुक अस्थिरतातर्फ जान्छ, त्यसैले सबै अंगले आफ्नो भूमिका सही ढंगले निर्वाह गर्न जरुरी छ।”
सुनुवाइका क्रममा उनले न्याय क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र नैतिक मूल्यको पालना गर्नुपर्नेमा पनि जोड दिए। सुनुवाइ समितिमा सांसदहरूले पोखरेलसँग विगतको पेशागत अनुभव, विचारधारात्मक दृष्टिकोण र न्यायप्रति उनको दृष्टिकोणबारे प्रश्न गरेका थिए। उनले आफूले विगतमा देखाएको भूमिका र भावी न्यायिक जिम्मेवारीलाई जिम्मेवार रूपमा निर्वाह गर्ने अठोट व्यक्त गरे।