काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशमध्ये एक मेघराज पोखरेलविरुद्ध आज संसदीय सुनुवाइ समितिमा छलफल भएको छ। सुनुवाइको क्रममा पोखरेलको निष्पक्षता र न्यायिक स्वतन्त्रतामाथि विभिन्न सांसदहरूले गम्भीर प्रश्न उठाएका छन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पोखरेललाई बाँकी प्रक्रियाबाट स्वेच्छाले बाहिरिन सुझाव दिए। उनले भने, तपाईंको अतीत, भूमिका र विवादको सन्दर्भमा अहिलेको समयमा स्वतः बाहिरिनु नै उचित देखिन्छ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पोखरेलको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाउँदै केही समयअघि मात्र नेपाल बार एसोसिएसनको अध्यक्ष रहेका व्यक्ति न्यायाधीश बनेपछि निष्पक्ष न्याय दिन सक्नुहुन्छ भन्ने आधार के हो ? भन्दै प्रश्न गरेका थिए ।
शर्माले बारलाई राजनीतिक प्रतिस्पर्धासँग जोडिएको संस्था बताउँदै, बार त स्वतन्त्र हुनु पर्ने हो, तर यहाँ राजनीतिक पक्षधरता देखिन्छ, भन्दै पोखरेलको निष्पक्ष भूमिका प्रति आशंका व्यक्त गरे।
संसदीय सुनुवाइ समितिमा पोखरेलले आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रम चलिरहेको छ। बाँकी दुई प्रस्तावित न्यायाधीशहरूमाथिको सुनुवाइ पनि क्रमशः हुने बताइएको छ।