फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अति लोपोन्मुख वनकरिया समुदाय केराको पातको छानाबाट जस्तापाता हुँदै अहिले विस्तारै पक्की घरमा बस्न थालेका छन्। शिक्षा, महिला सशक्तीकरण र उद्यम विकासले २० वर्षअघिसम्म कन्दमूलको भरमा फिरन्ते जीवन बिताइरहेको यो समुदायको जीवनशैलीमा उल्लेखनीय परिवर्तन ल्याएको हो।

घर वरपर पाइने कच्चा पदार्थ र जडीबुटीको प्रयोग गरी उद्यमी बनेकी ४० वर्षीया सुन्तली वनकरियाको हाल एकतले पक्की घर छ। उनका दुई छोरा विद्यालय जान्छन् भने उनी स्वयं दिनभर साबुन उत्पादनमा व्यस्त रहन्छिन्।

प्राकृतिक स्रोत महिला अधिकार समूह मनहरी–४ की अध्यक्षसमेत रहेकी सुन्तलीलाई ग्रिन फाउन्डेसन नेपालले उद्यमशीलता सिकाएको हो। उनले भनिन्, “पहिला त बोल्नसमेत डर लाग्थ्यो, अहिले भने आफैंले उत्पादन गरेको सामानको प्रचार गर्न सक्छु। साबुन बनाउने मात्र होइन, उत्पादनको मूल्य निर्धारण, बिक्री र प्रचारको तालिम पाएकोले अहिले सक्षम भएकी छु।” उनको समूहमा २१ जना महिलाले साबुन उत्पादन गरिरहेका छन्। आम्दानीसँगै जीवनशैलीमा आएको परिवर्तन उल्लेख गर्दै उनी भन्छिन्, “अब त वनको कन्दमूल रहरले मात्रै खान मन लाग्छ।”

७० वर्षीय हस्तबहादुर वनकरिया अहिले खेतीबाट ६ महिना खान पुग्ने बताउँछन्। बाँकी समय उनी अन्य काम र साबुन व्यवसायमा लाग्छन्। करिब २० वर्षअघि जंगलको फिरन्ते जीवन त्यागी बस्तीमा बस्न थालेका उनले अहिले खेतीपातीमै व्यस्त हुने गरेको सुनाए। माया वनकरिया पनि खेतीसँगै साबुन उत्पादनमा लागेकी छन्।

बस्तीका महिलाहरू खोला किनार र वनमा फालिएको तीतेपाती र निम प्रयोग गरी साबुन बनाइ बेचिरहेका छन्। चुरे वनमा आधारित जीवनशैली रहेका वनकरिया सामुदायिक वन बफर जोन क्षेत्रका रूपमा परिणत भएपछि त्यही वनका स्रोतबाट उद्यमी बन्न थालेका हुन्।

उद्यम विकासले आम्दानी त बढ्यो, तर समस्याहरू यथावत्

सन्तोषी वनकरियाले आफूहरू भूमि पूजक भए पनि अहिलेसम्म जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) नपाएकोमा दुःख व्यक्त गरिन्। उनले भनिन्, “२०६२ सालमा २० वर्षका लागि दिएको कबुलियती कागज २०८२ वैशाखमै सकिएको हो। अहिले हामी समय सकिएको जग्गामा बसिरहेका छौं, तर अधिकार छैन।”

उनले थपिन्, “साबुन बनाउने सीप सिकेकी थिएँ। जानेको सीप प्रयोग गरेर व्यवसाय सुरु गर्ने प्रयास गरेँ, तर लालपुर्जा नभएकाले प्यान दर्ता गर्न पाइएन। त्यसैले तीन महिना काम ठप्प भयो। वडाध्यक्षले आफ्नो नाममा उद्योग दर्ता गर्न सहयोग गरे, तर सधैं यसरी अरुको भर पर्नु पर्ने अवस्था कति दिनसम्म?”

स्थानीय सङ्गीता वनकरियाले पनि समुदायका लागि भत्ता होइन, रोजगारी आवश्यक भएको बताइन्। “रोजगारी र लालपुर्जा भए सरकारको भत्ताभन्दा धेरै आम्दानी गर्न सकिन्थ्यो,” उनले भनिन्। उनले सरकारले बालबालिकालाई कक्षा १ देखि १० सम्म निःशुल्क पढाउने भने पनि आफूहरूले महिनैपिच्छे शुल्क तिर्नुपरेको भन्दै गुनासो गरिन्।

वनकरिया जाति नेपालको १० लोपोन्मुख आदिवासी जनजातिमध्ये एक हो। यो जाति केवल मकवानपुर जिल्लामा मात्र बसोबास गर्छ। मनहरी गाउँपालिका–४, ट्वाङ्ग्राखोला नजिकको वनकरिया बस्तीमा हाल २१ घरधुरीमा ८३ जनाको बसोबास छ। केही दशकअघिसम्म चुरे जंगलमा कन्दमूल खोज्दै, माछा मार्दै र वन्यजन्तुको सिकार गर्दै फिरन्ते जीवन बिताउने वनकरियाहरू अहिले स्थायी बस्तीमा बसेर स्थायी आम्दानीको स्रोत बनाउन थालेका छन्।

पछिल्लो वर्षदेखि सरकारले उनीहरूलाई जनही मासिक ४ हजार सामाजिक सुरक्षा भत्ता दिन थालेको छ, जसले आर्थिक अवस्था सुधार गर्न सहयोग पुगेको छ। विसं २०६२ देखि कबुलियती वन क्षेत्रमा बस्ती बस्न दिएको सरकारले अहिले पनि उनीहरूलाई जग्गाधनी प्रमाणपत्र नदिएको भन्दै सामूहिक लालपुर्जाको माग गरिँदै आएको छ। मनहरी–४ मुसेधापमा अहिले २५ घर परिवारमा ९३ जना वनकरिया बसोबास गरिरहेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज