काठमाडौं । अदालतको अवहेलनासम्बन्धी एक महत्वपूर्ण मुद्दाको सुनुवाइका लागि विशेष अदालतमा अहिलेसम्मकै बृहत्तर इजलास गठन गरिएको छ। दृष्टि साप्ताहिक र सोही सञ्चारगृहअन्तर्गतको अनलाइनमा प्रकाशित समाचारहरूप्रति आपत्ति जनाउँदै विशेष अदालतका छ जना कर्मचारीहरूले अदालतको अवहेलना भएको दाबी गर्दै प्रतिवेदन दर्ता गरेका थिए।
यही प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्न विशेष अदालतका सबै ६ जना न्यायाधीश सम्मिलित इजलास गठन गरिएको हो।
इजलासमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइराला सहभागी थिए।
सामान्यतया विशेष अदालतमा भ्रष्टाचार मुद्दा हेर्न तीन न्यायाधीशको इजलास रहने प्रचलन रहेको छ। तर, यसपटक अदालतको मर्यादा र गरिमासँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले सबै न्यायाधीशलाई सहभागी गराएर विस्तारित इजलास बनाइएको विशेष अदालत स्रोतले जनाएको छ।
‘दृष्टि साप्ताहिकले प्रकाशित गरेका समाचारहरू क्रमिक रूपमा अदालतको अवहेलनासँग सम्बन्धित देखिएका छन्,’ स्रोतले भन्यो, ‘त्यसैले कारबाहीको माग गर्दै प्रतिवेदन आएको हो र आज प्रारम्भिक सुनुवाइ सम्पन्न भएको छ।’
स्रोतका अनुसार आजै अपरान्हसम्म इजलासबाट प्रारम्भिक आदेश आउने अपेक्षा गरिएको छ।