मेटमणि चौधरीविरुद्धको चेक अनादर प्रकरण, उजुरी फिर्ता लिँदै बुढामगरले लेखे ‘समस्या समाधान भइसकेको छ’

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हालै परेको चेक अनादरसम्बन्धी उजुरी फिर्ता लिने निर्णय उजुरीदाता स्वयंले गरेका छन्। यससँगै सांसद चौधरीविरुद्ध उठाइएको विवाद स्वतः फिर्ता हुँदै गएको छ।

रोल्पा स्थायी घर भई हाल दाङको घोराहीमा व्यवसाय गर्दै आएका धात बुढामगरले आइतबार (असार ८) जिल्ला प्रहरी कार्यालय, दाङमा हुलाकमार्फत पठाएको पत्रमा लेखेका छन्, “मैले मेटमणि चौधरीसँग व्यवसायिक कारोवार अन्तर्गत पाँच करोड ४० लाख रुपैयाँको चेक सुरक्षण वापत लिएको थिएँ। तर हाल परिस्थितिगत कारणले मेरो समस्या समाधान भइसकेको हुँदा पहिले दिएको जाहेरी फिर्ता लिन्छु।”

बुढामगरले यसअघि २०८१ जेठ २१ मा सो चेक बाउन्स भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। माघ २६, २०७९ मा जारी गरिएको उक्त चेक तीन पटकसम्म बैंकिङ प्रक्रियामा प्रयोग गर्दा समेत भुक्तानी नभएपछि उनले उजुरी दिएका थिए। तर अहिले आएर उनी स्वयंले पत्रमार्फत उजुरी फिर्ता लिएको घोषणा गरेका छन्।

दाङ प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाका अनुसार उजुरी फिर्ताको पत्र प्राप्त भइसकेको छ। “जाहेरी फिर्तासम्बन्धी पत्रको प्रमाणिकता पुष्टि गर्न उजुरीदातालाई सनाखतका लागि बोलाइएको छ,” उनले जानकारी दिए।

सांसद चौधरीसँग उजुरीदाताको व्यवसायिक सम्बन्ध रहेको र सुरक्षण वापत चेक दिइएको कुरा पत्रमै उल्लेख गरिएको छ। चौधरीले सुरुदेखि नै यो घटनालाई नियोजित बदनाम अभियानको रूपमा व्याख्या गर्दै आएका थिए।

 

सम्बन्धित समाचार

ताजा न्यूज