काठमाडौं । आचरणमा गम्भीर प्रश्न उठेसँगै दुई जिल्ला अदालतका न्यायाधीशलाई जिम्मेवारीविहीन बनाउँदै न्यायपरिषद्ले परिषद्मा तानेको छ। धनुषा जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठ र दार्चुला जिल्ला अदालतका न्यायाधीश पुष्पराज पाण्डे न्यायपरिषद्मा तानिएका हुन्।
न्यायपरिषद्सँग नजिक स्रोतका अनुसार दुवै न्यायाधीशको आचरणसम्बन्धी विषयमा विभिन्न निकाय र व्यक्तिहरूबाट गुनासाहरू प्राप्त भएपछि प्रारम्भिक छानबिन थालिएको हो। छानबिन नसकिएसम्म उनीहरू न्यायिक जिम्मेवारीमा रहने छैनन्।
गम्भीर प्रकारका गुनासा परेका कारण परिषद्ले प्रारम्भिक छानबिन अघि बढाएको हो, स्रोतले भन्यो, “यस्तो अवस्थामा उनीहरूलाई जिम्मेवारीविहीन बनाएर परिषद्मा राखिएको हो।
यसअघि पनि न्यायपरिषद्ले उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई अदालतबाट फिर्ता बोलाएको थियो। उनीहरूलाई रौतहट बम विस्फोटको मुद्दामा मुख्य आरोपित मोहमद आफ्ताब आलमलगायतलाई सफाइ दिँदा उठेका प्रश्नपछि परिषद्मा तानिएको थियो।
न्यायपालिकामा आचरण र निष्पक्षतासम्बन्धी प्रश्नहरू उठिरहँदा न्यायपरिषद्को पछिल्लो कदमलाई शुद्धीकरणको प्रक्रिया भनेर हेरिएको छ। प्रारम्भिक छानबिनपछि आवश्यक निर्णय लिइने परिषद् स्रोतको भनाइ छ।