काठमाडौं । राजस्व छलीको गम्भीर आरोपमा अनुसन्धानको घेरामा परेको नेपाल क्यान मुभ प्रालि प्रकरणमा संलग्न तीन अभियुक्तलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार न्यायाधीशद्वय ऋषिराज भण्डारी र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले थुनछेक बहसपछि गंगाबहादुर थापा, मनिषप्रसाद आचार्य र संगम पौडेललाई फरक-फरक धरौटीमा रिहा गर्न आदेश दिएको हो।
राजस्व अनुसन्धान विभागले असार १ गते उक्त कम्पनीविरुद्ध करिब १ अर्ब ३६ करोड रुपैयाँ बराबरको राजस्व छली गरेको आरोपसहित मुद्दा दायर गरेको थियो। सोही आरोपमा थापा, आचार्य र पौडेललाई पक्राउ गरिएको थियो।
अदालतको आदेशअनुसार थापाबाट ६० लाख, पौडेलबाट ३० लाख र आचार्यबाट १० लाख रुपैयाँ धरौटी माग गरिएको छ।
काठमाडौंको तीनकुनेस्थित नेपाल क्यान मुभले आर्थिक वर्ष २०७६/७७ देखि ८१/८२ को फागुनसम्मको अवधिमा अनलाइन प्रणाली (एनसिएम) दुरुपयोग गरी ठूलो परिमाणमा राजस्व छली गरेको आरोपमा विभागले एनसिएम प्रणाली नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाएको थियो।
यो प्रकरणले कार्गो तथा कुरियर व्यवसायमा भइरहेको नियमन अभाव र प्रणालीगत कमजोरी उजागर गरेको छ भने राजस्व संरक्षणमा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।