मेरो छोरा कहाँ छ ?

काठमाडौं । मेरो छोरा कहाँ छ ? यो प्रश्न हो ८४ वर्षीय श्रीनारायण सिंह राजपुतको, जो १६ वर्षदेखि आफ्ना कान्छा छोराको न्यायका लागि लडिरहेका छन्। छोराको हत्या भएकोमा उनी पक्का छन् । तर हालै उच्च अदालत वीरगञ्जको फैसलाले उनको घाउ फेरि बल्झिएको छ।

रौतहटको बहुचर्चित बम विस्फोट घटनामा दोषी ठहरिएका पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ। अदालतको यस निर्णयपछि श्रीनारायणले न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि कारबाहीको माग गर्दै न्याय परिषद्मा उजुरी दिएका छन्।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटमा भएको विस्फोटमा उनका २२ वर्षीय छोरा त्रिलोकप्रताप सिंह (पिन्टु) मारिएका थिए। विस्फोटमा घाइते र मृत व्यक्तिहरूलाई इँटाभट्टामा हालेर जलाइएको भन्ने आरोप लागेको थियो। सो क्रममा श्रीनारायण आफैं घटनास्थल पुगेका साक्षी हुन्। छोराको खोजी गर्दै उनी बिहारको सितामढीसम्म पुगे, तर छोरा कहिँ फेला परेन। त्यस दिनदेखि न्यायका लागि उनी निरन्तर संघर्षरत छन्।

२०७६ मा आलम पक्राउ परेपछि श्रीनारायणमा केही आशा पलायो। जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनायो। उनले पहिलोपटक महसुस गरे, ढिलो भए पनि कानुन अझै बाँचेको रहेछ। तर मुद्दा उच्च अदालत, वीरगञ्ज पुगेपछि परिस्थिति फेरियो।

न्यायाधीश थारु र महर्जनको इजलासले चार–पाँच घण्टामै सुनुवाइ टुंग्याउँदै आलमलाई सफाइ दियो। फैसलाको मुख्य आधार थियो ‘विस्फोटको पुष्टि भएन, इँटाभट्टामा शव जलाइएको प्रमाण भेटिएन।’ अदालतको यो निर्णयसँगै श्रीनारायणको मनमा एउटा गहिरो प्रश्न फेरि उठ्यो, यदि विस्फोट भएको थिएन भने, मेरो छोरा कहाँ छ रु

उनले न्यायपरिषद्मा दिएको उजुरीमा फैसलालाई पूर्वाग्रही, राजनीतिक प्रभावमा गरिएको र न्याय सम्पादनको मर्यादाविपरीत भनेका छन्। साथै, उक्त फैसलामा आर्थिक चलखेलको सम्भावनासमेत देखिएको उनको आरोप छ।

श्रीनारायणको बुझाइमा, यस्तो फैसला राजनीतिक दबाब वा पैसाको प्रभावबिना सम्भव थिएन। “घटनास्थल, प्रत्यक्षदर्शी, प्रहरी रिपोर्ट, सबै थिए। तर अदालतले त्यो नदेखेझैँ गर्‍यो,” उनी भन्छन्, “अब त लाग्न थालिसक्यो कानुन मरेको रहेछ।”

न्याय परिषद्मा भएको छलफलमा केही सदस्यहरूले छानबिनको माग गरे पनि हालसम्म ठोस निर्णय भएको छैन। न्यायाधीशहरू थारु र महर्जनलाई परिषद्मा तान्नुपर्ने प्रस्ताव भए पनि त्यसले पूर्ण समर्थन पाएको छैन। यसबीचमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत मौन बसेको भन्दै आलोचना भइरहेको छ।

श्रीनारायणको यस न्याययात्राले उनीबाट धेरै बलिदान लिएको छ। न्यायको खोजिमा उनले झण्डै चार विघा जग्गा बेचि सके । उनले गत पुसमा श्रीमती पनि गुमाए। अहिले उनी छोराको आत्माको शान्तिका लागि बाँकी जीवन न्याय खोज्नमै बिताउँदैछन्।

“अब मेरो धेरै बाँकी छैन,” उनी भन्छन्, “तर छोराको आत्माको शान्तिका लागि म अन्तिम साससम्म लड्नेछु।”

सम्बन्धित समाचार

ताजा न्यूज