न्याय प्रणालीलाई बदनाम बनाउने न्यायाधीशहरूमाथि कडा कारबाही गर्न पूर्वन्यायाधीश फोरम नेपालको माग

काठमाडौं । पूर्वन्यायाधीशहरूको साझा मञ्च ‘पूर्वन्यायाधीश फोरम नेपाल’ ले न्यायालयप्रति जनविश्वास गुम्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै न्याय प्रणालीलाई बदनाम बनाउने न्यायाधीशहरूमाथि कडा कारबाहीको माग गरेको छ।

मंगलबार जारी विज्ञप्तिमार्फत फोरमले न्यायालयको गरिमा कायम राख्नका लागि न्यायाधीशहरू स्वच्छ र मर्यादित आचरणमा रहनुपर्नेमा जोड दिएको छ।

“न्यायाधीशको समग्र आचरणको स्वच्छता, न्यायिक शुद्धता, सक्षमता र जनआस्था आर्जन गर्नसक्ने छविले मात्र न्यायालयको गरिमा बचाउन सकिन्छ,” विज्ञप्तिमा भनिएको छ।

फोरमले पछिल्लो समय न्यायालय राजनीतिक प्रभावमा चलिरहेको भन्ने आशंका समाजमा फैलँदै गएकाले त्यसप्रति सरोकारवालाहरू सचेत हुनुपर्ने उल्लेख गरेको छ।
“राजनीतिक निर्देशन वा व्यक्तिगत स्वार्थमा आधारित न्यायिक निर्णयले न्यायपालिकाप्रतिको विश्वास गुमाउँदै लैजाने खतरा छ,” फोरमको भनाइ छ।

फोरमले उच्च अदालत वीरगञ्ज इजलासमा न्यायाधीशमाथि भएको आक्रमणप्रति पनि गम्भीर आपत्ति जनाउँदै त्यो न्यायाधीशको पदीय स्वतन्त्रतामाथिको आघात भएको टिप्पणी गरेको छ। न्यायाधीशहरूको सुरक्षाको प्रत्याभूति र व्यवसायिक स्वतन्त्रता सुनिश्चित गरिनुपर्ने फोरमको माग छ।

पूर्वन्यायाधीशहरूको फोरमले सबै तहका न्यायाधीशहरूलाई आत्मसमीक्षा गर्दै न्यायपालिकाको साख जोगाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज