काठमाडौं । राजावादी आन्दोलनमा संलग्नताकाे आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतमा आफैं उपस्थित भएपछि आजै राणाको बयान लिइएको थियो।
गत २०८१ चैत १५ गते तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागिता जनाएको आरोपमा राणाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत अपराधसम्बन्धी गरी चारवटा मुद्दा दायर गरिएको थियो।
यसअघि अनुसन्धानका क्रममा प्रहरीबाट हाजिर जमानीमा रिहा भएका राणा उपचारका लागि विदेश गएका थिए। तर मुद्दा दायर भएपछि उनी केही समयसम्म फरार रहेका थिए।
अदालतमा उपस्थित भएका राणा धरौटीमा रिहा भए पनि राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै सम्पर्कबाहिर छन्। तीनकुने घटनामा संलग्न रहेको आरोपमा यसअघि अदालतले ३२ जनालाई धरौटीमा रिहा गर्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।